शिक्षा ऐन संशोधनः शिक्षामन्त्रीको अपराध

78

शिक्षा ऐनमा आठौं संशोधन गरेको करीव डेढ बर्षपछि संसदले गत असोज ३ गते शिक्षा ऐनको नवौं संशोधन गरेको छ । स्थानीय चुनाव र चाडबाडको अनुकुल समयको जोखनामा करीब २६ प्रतिशत मात्रै सांसद संसदमा उपस्थित भएको बेलामा केही माननीयको विरोधका बाबजुद ऐन पारित भएको छ ।

खासमा शिक्षाकोे मुद्दामा बेखबर शिक्षामन्त्रीको विशेष मोहमा, दलीय आग्रहको घेरामा यो सम्भव भएको हो । सार्वजनिक शिक्षामा दीर्घकालीन असर राख्ने निर्णय गराएर माननीय मन्त्रीले आफूले मात्रै कलंकको टीका लगाउनुभएन सार्वजनिक शिक्षामै कालो पोत्नुभएको छ । यसले हाम्रा घगडान शिक्षाविददेखि आन्दोलनको मसिहा विद्यार्थी संगठनलाई गिज्जाएको छ ।

आठौं संशोधनले अस्थायी शिक्षकका समस्यालाइ नै दृष्टिगत गर्दै ५१ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र ४९ प्रतिशत आन्तरीक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने र अस्थायी शिक्षकले प्रतिस्पर्धा या गोल्डेनहृयान्सेक मध्ये एक रोज्ने अवसर दिएको थियो ।

ब्यबहारिक हिसाबले यसलाई सही नै ठानिएको थियो । विद्यार्थी आन्दोलनले पनि स्वागत नै गरेको थियो । जुन अस्थायी शिक्षकप्रतिको सम्मानको रुपमा थियो । तर, अहिले नवौं संशोधनमा ७५ प्रतिशत आन्तरीक प्रतिस्पर्धा सुनिश्चित गर्दै यसमा पनि पास हुन नसक्नेहरुलाई गोल्डेनहृयान्सेक दिएर पुरष्कृत गर्ने भनिएको छ । यसो भन्नु आफैमा अशोभनीय र लज्जास्पद कुरा हो । जुन आम रुपमा स्थापित मान्यता विपरीतको कुरा हो । मन्त्रीज्यूले क्यालकुलेटर थिचेर अंकगणितीय नाफा होइन सार्वजनीक शिक्षाको शीर उठाउने पाइला चालेर ज्यामितीय फाइदा अगाँल्नु बुद्दिमानी हुन्थ्यो र हुन्छ ।

हो, अहिले मुलुकमा करीव २६ हजार अस्थायी शिक्षक कार्यरत छन् । केही अपवादलाइ छाडेर भन्दा ठाडो तोक आदेशमा नियुक्त शिक्षकहरुलाइ अतिरिक्त स्नेहको भारी बोकेर यो ऐन जारी भएको छ । यो भारीले माननीय मन्त्री ज्यूलाई थिच्ला या नथिच्ला तर सार्वजनीक शिक्षा माथी उठन नसक्ने गरी थिचिदैछ ।

पारित ऐनले जबरजस्त केही गम्भीर गलत मान्यता / सन्देश प्रवाह गरेको छ । पहिलो, नवौं संशोधनले शिक्षक सेवामा फ्रेस जनशक्तिको (तत्काल करीव १३ हजार) प्रवेशको सम्भावनालाइ बन्ध्याकरण गरेको छ र जसले गर्दा प्रविधीमैत्री र पछिल्ला सिकाइ पद्दतिसँग नजिकबाट साक्षात्कार गरेको युवापुस्ताको कक्षाकोठामा उपस्थिति निकै दुर्लभ हुने देखिन्छ । जसको सिधा असर शिक्षाको गुणस्तरमा पर्दछ । सार्वजनिक विद्यालय शिक्षा अध्ययन गरिरहेका करीव ७० लाख विद्यार्थीमा पर्छ ।