नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवंम् मधेश विभाग प्रमुख फोरम नेपालमा प्रवेश

771

वीरगन्ज, १७ मंसिर – नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एंव मधेस विभाग प्रमुख विजय कुशवाहा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ ।

पोखरामा सम्पन्न प्रेस युनियनको आठौं महाधिवेशनबाट सर्वाािधक मत प्राप्त गरि प्रेस युनियनको केन्द्रिय सदस्यमा निर्वाचीत भएका कुशवाहा आज फोरम नेपालमा प्रवेश गर्नु भएको हो ।

वीरगन्जको होटल कुमु प्यालेशमा आज फोरम नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष एंव वीरगन्ज महानगरका मेयर विजय सरावगी, कार्यवाहक जिल्ला अध्यक्ष सुन्दर कुर्मी र युवा नेता शुसिल साह कानुले कुशवाहालाई फुलको माला र अबीर टीका लगाएर पार्टीमा स्वागत गर्नु भयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुशवाहाले एक दशक देखि प्रेस युनियनमा आबद्ध भइ काँग्रेस पार्टीको सकृय राजनीति गर्दा पनि पार्टीले कुनै मुल्यांकन नगरेको र आफुले कहिल्यै पनि काँग्रेस मधेसको पार्टी भएको महसुस गर्न नपाएको बताउनु भयो । मधेसको सबै भन्दा विरोधी पार्टी काँग्रेस नै भएको भन्दै कुशावाहाले प्रहरी र सेनाले मधेसमा मधेसीको टाउको र छातीमा गोली चलाइरहेका बेला काठमाण्डौमा काँग्रेसका सांसदहरुले मधेस विरोधी संविधान जारी गरेर खुशीयाली मनाएको स्मरण गराउनु भयो । काँग्रेस र प्रेस युनियनमा रहदा सधै उकुश मकुश भएको महसुस गरेको भन्दै उहाले मधेसको हक हितका लागि वकालत गर्ने र लड्ने एक मात्र दल फोरम नेपाल रहेकाले आफु फोरम नेपालमै प्रवेश गरेको बताउनु भयो ।

आगामी दिनमा पार्टीले दिने जिम्मेवारी वहनका लागि आफुले तन मन र धनले दत्तचित्त भएर लाग्ने पनि कुशवाहाले बताउनु भयो । कार्यक्रममा बोल्दै फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष एंव वीरगन्ज महानगरका मेयर विजय सरावगीले चुनावको मुखमा प्रेस युनियनका केन्द्रिय सदस्य एंव सकृय पत्रकार विजय कुशवाहाको पार्टी प्रवेशले फोरम नेपाल थप मजबुत भएको बताउनु भयो ।

आगामी दिनमा मधेस विरोध ठुला दलमा रहेका कर्मठ कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गर्नेमा आफु आशावादी रहेको भन्दै मेयर सरावगीले अहिले फोरम नेपालमा प्रवेश गरेका कुशवाहालाइ पार्टीले चुनाव लगत्तै उहाको अनुभव र दक्षतालाइ मुल्यांकन गर्दै जिम्मेवारी दिने बताउनु भयो । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एंव वीरगन्ज महानगर कार्यपालिकाका सदस्य शुसील साह कानुको अध्यक्षतामा भएको कार्यक्रमा फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी , फोरम नेपालका नेता एंव पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष ध्रुब साह, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका पनि उपस्थिती रहेको थियो ।