आज:  | Wed, 12, Aug, 2020

भगवान श्रीरामले तोडेको धनुष खसेको ठाउँमा आजदेखी मकर मेला शुरु

बिरगंज सिटी १ माघ २०७६, बुधबार १६:१४मा प्रकाशित (७ महिना अघि) २६६८ पाठक संख्या

माद्ध १ धनुषा / भगवान श्री रामले तोडेको धनुष खसेको ठाउँमा मकर मेला शुरु भएको छ ।
धनुषाको पूर्वी क्षेत्रस्थित धनुषाधाममा मकर मेला सुरु भएपछि मेला भर्न यहाँ श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।

ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजन पुजा पाठ गरेका छन भने मेला भर्न आउन भक्तजनहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरको चल्न रहेको छ ।
त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए ।

रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।

धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । धनुषको टुक्रामा भक्तजनले पुष्पजल अर्पण पनि गर्छन् ।

जनकपुरको उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउने गर्छन ।
यहाँ मंसिरको महिनामा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला पनि लाग्ने गर्छ ।