आज:  | Fri, 10, Jul, 2020

खेतमै कुहिन थाले तरकारी, कोरोना कहरले लगानी भयो पानी, कसरी चलाउने परिवार : कृष्क

बिरगंज सिटी १९ बैशाख २०७७, शुक्रबार ०९:४०मा प्रकाशित (२ महिना अघि) ५८८१ पाठक संख्या

-बलिराम यादव-
बैशाख १९ वीरगंज/ पर्साको ग्रामिण भेगका कृषक अहिले दोहोरो मारमा परेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लक डाउनमा किसानले लगाएको तरकारी बाली स्थानीय बजार र उपत्यकामा नगई खेतमै कुहिएर नष्ट भईरहेको छ ।

पर्साका अधिकांस मानिस कृषि पेशामा निर्भर रहेका छन् । कृषिमा आत्मनिर्भर रही घरपरिवार चलाउने किसान लकडाउनले खेतमा लगाएको तरकारी बिक्रि वितरण गर्न नसकेर बारीमै कुहिने अवस्था सृजना भएपछि अहिले किसान झनै चिन्तीत देखिएका छन् ।

लकडाउनमा एक त बिक्रि वितरण गर्न नसकेपछि खेतमै कुहिन लागिएको तरकारी बालीले लगानी पनि नोक्सान, अर्काे भने जिविका चलाउन राखिएको धनमाल पनि खेती गर्नमै लगाएपछि अहिले उत्पन्न भएको महामारीको बेला आर्थिक संकटले झनै कठिनाई भएको बहुदरमाई नगरपालिका वडा नं. ७ का भोला कुशवाहाले दुखेसो पोखे । उनले भने,‘‘ भएजतिको पैसा खेती गर्नमै लगाएको थिए ।

लगातारको २/३ महिनाको मेहन्त र लगानीले बल्ल आम्दनी गर्ने बेला आएको थियो । तर तीन वटा सरकार हुँदा हुँदै पनि कृषकलाई कुनै व्यवस्था नगरेको र लकडाउनले झन घरबाहिर निस्किन नसकेपछि घरमा राखिएको धनमाल लगानी गरी गरिएको तरकारी फसल अहिले खेतमै लतपत भएपनि बिक्रि गर्न नसकी आफू चिन्तित भएको कुशवाहाले बताए ।

सरकारले किसानको लागि राम्रो गर्ने भने पनि खेतमा कुहिन लागेको तरकारीको व्यवस्थापन गर्न नसकेपछि किसान चिन्तित मात्रै नभई कतिपयले कर्जा लिई गरेको खेतीबाट ऋण दिन नसकि जग्गा नै बेच्नु पर्ने परिस्थित सृजना हुन सक्ने चिन्ताले सताईरहेको बहुदरमाई नगरपालिका वडा नं. ४ किसान शम्भु महतोले बताए ।

उनी वर्षेनी १५/१६ कठ्ठासम्म तरकारी खेती गर्ने गर्छन् । यसपालि पनि ७ कठ्ठा करेला र ५ कठ्ठा बोडी र ३ कठ्ठा घिँडैला खेती गरेका छन् । खेती बढि भएपछि दैनिकी उत्पादन हुने तरकारी पनि बढि नै छ । तर लकडाउनले न त स्थानीय बजार लागिरहेको छ, न त वीरगंज नै पु¥याउन सकिरहेका छौ । मरीमरी खेतमा गरिएको मेहेन्त र लगानी अब कसरी निकाल्ने सरकार ? उनले प्रश्न गरे ।

पर्साका किसान लौका, बोडी, करेला, भिन्डी, भण्टा, खुरसानी, काक्रो आदी तरकारी लगाइएको र सबै फलेर लटरम भएको तर बेचन नपाएर खेतमा नै कु्हिन थालेपछि किसान यतिबेला कोरोनाको कहरभन्दा पनि खेतीमा गरेका लगानी र नहुने आम्दनीपछि कसरी चलाउने परिवार भने चिन्ताले उनीहरुलार्ई सताईरहेको छ ।

लकडानउनमा किसानलाई उत्पादित तरकारी बेच्ने समस्या मात्रै होईन, आवतजावत गर्न नपाएउनीहरु खाद्य, मल समेत किन्न पाएका छैनन् । कम खेती गरेका केही किसानहरु गाउँमै छानेर बेच्ने गरे पनि स्थानीय प्रहरी प्रशासनले निर्घात रुपमा लठ्ठी प्रहार गरिरहेकोले आम उपभोक्ता पनि ताजा र हरियो तरकारी खानबाट बञ्चित भइरहेको बहुदरमाई नगरपालिका वडा नं. ५ का स्थानीय प्रमोद यादवले बताए । उनले भने,‘‘स्थानीयस्तरमा लाग्ने सबै बजार अहिले बन्द गरिएको छ ।

केही केहीले गाउँमा ल्याएर तरकारी बिक्रि गर्दा प्रहरी प्रशासनले निर्घात रुपमा लठ्ठी प्रहार गरिरहेकोले उनीहरु पनि आउने छोडेपछि धेरै दिनदेखी हरियो र ताजा तरकारी खान पाउन सकिएको छैन् ।’’

लकडाउनको फाईदा उठाउँदै केही व्यापारीहरु गाउँबाट सस्तो मूल्यमा खरिद गरी बजारमा चर्काे मूल्यमा बेचिरहेकोले एकातिर किसानको मुनाफा पनि डुब्यो अर्काेतिर उपभोक्ता पनि पनि ठगिएका छन् । । स्थानीय तह लगायतका सम्बन्धीत निकायले कृषक र उपभोक्ताको पिडा नजिकबाट देख्न नसकेकोले  किसान र उपभाक्त दुबै ठगिएका हुन् ।

यद्यपी कृषकले लिएको कर्जाको ४ महिनाको व्याज प्रदेश २ को सरकारले तिर्ने घोषणा गरेको छ र क्षतिको विवरण संकलन गरी क्षतिको राहत दिने प्रकृयामा छ । तर स्थानीय तहले कृषकहरुलाई अलिकति पनि सहयोग नगरेपछि कर्जामाफीको आशा सेलाएको किसानहरु बताउँछन् ।

पर्सामा अहिले २ हजार हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती भएको छ । यो खेतीको अन्त्यसम्ममा ३० हजार मैट्रिक टन तरकारी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र प्रसाद यादवले बताए । उनले किसानले उत्पादन गरेका तरकारी बाली गाउँघरमै बिक्रि भईरहेको छ भने कतिपय तरकारी व्यवसायीहरु खेतबाट पनि खरिद गरी लगिरहेको बताए ।

लकडाउनमा उत्पादित तरकारी बिक्रि वितरण गर्न किसानलाई कृषि ज्ञान केन्द्रद्वारा पत्र बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पास पनि दिलाउने गरेका छौ, जसमा करिब १५ जनाले पास बनाई उत्पादित तरकारी बिक्रि वितरण गर्नमा पनि लागेको प्रमुख डा.यादवले बताए ।

कृषकले उत्पादन गरेको तरकारी, दुध, माछा, मासु लकडाउनमा बिक्रि वितरण गर्न नसकिएपछि कृषक मात्रै होईन, आम उपभोक्ता पनि गुणस्तर मासु, ताजा दूध र हरियो तरकारी उपभोग गर्न नसक्दा किसान र उपभोक्ता दुबै मर्कामा पर्ने गरेको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले बताए ।

कृषि क्षेत्रको उत्पादनबाट हरेक मानवजातिको जीवन निर्वाह भईरहेको बताउँदै अध्यक्ष साहले स्थानीय सरकारले उत्पादित तरकारी लगायतका कृषि बस्तुलाई विक्रि वितरण गर्न आवश्यक प्रवन्ध मिलाई कृषिको लागी आवश्यक पर्ने सहुलियत कर्जा, मलखाद्य, बिउबिजन, सिचाई, उपकरण (मेसिनरी औजार), ढुवानी र बिक्रि बितरण गर्ने ठाउँको व्यवस्थापन गर्नमा ढिलो नगरि सबैको जीवन मरण जस्तो विपतीको बेला सबै निकायको समन्वयमा कृषि क्षेत्रलाई जोगाउन कार्यमा लाग्नु पर्ने सुझाव दिए ।

उनले कृषि क्षेत्रमा सुरक्षा र लगानी गरिएन भने कोरोना महामारीभन्दा बढि खाद्यय संकट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरे ।