आज:  | Fri, 10, Jul, 2020

११ महिनादेखी तलब नपाएको भन्दै विन्दबासिनी गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी

बिरगंज सिटी १८ जेष्ठ २०७७, आईतवार २०:३९मा प्रकाशित (१ महिना अघि) १९३३ पाठक संख्या

-बलिराम यादव-
जेठ १८ वीरगञ्ज/  ११ महिनादेखी तलब नपाएको भन्दै पर्साको विन्दबासिनी गाउँपालिका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

बिन्दवासिनी गाउँपालिकामा करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले ११ महिना देखी तलब नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

तलब नपाउँदा कोरोना भाइरसको महामारीमा जीवन निर्वाह गर्न समस्या भएको, बिरामी हुँदा उपचार गर्न नसकेको र भोकमरीमा पर्ने खतरा दिनानुदिन बढ्दै गईरहेकोले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेकोे कर्मचारी रमेन्द्रनाथ तिवारीले बताए ।

उनले भने,‘‘ हामी २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब पाएका छैनौं, ‘वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक र कार्यालय सहायकहरुको म्याद ०७६ असार मसान्तमा सकिएको थियो, तर गाउँपालिकामा आवश्यकता छ भनेर ०७७ असार मसान्तसम्मका लागि म्याद थप गरिएको हो । तर अहलिेसम्म तलब भत्ता भने नदिएर झुलाएर राखेका छन् ।’’
तर यता विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु भने विशेष गाउँ सभा हुन नसक्दा कर्मचारीका लागि बजेट निकासा गर्न नसकेको बताए ।

उनले भने,‘‘ हाम्रो गाउँपालिका पर्साको सदरमुकाम वीरगंजबाट नजिक भएकोले जिल्लाबाट समायोजनमा करार र ज्यालादारीका धेरै कर्मचारी पालिकामा आएका छन् । तर पछि संघ सरकारले नै ज्यालादारी र करारमा कर्मचारी नराख्नु भनेपछि हामीलाई समस्या भएको हो, तर वहाँहरु सबैले काम गरिसकेकोले आन्तरिक स्रोतबाटै जे जति सकिन्छ व्यवस्था गर्ने तयारी गरेका छौं ।’’

बिन्दवासिनी गाउँपालिकामा ४ जना सामाजिक परिचालक र झण्डै ३० जना करार र ज्यालादारी कर्मचारी रहेका छन् ।