आज:  | Mon, 10, Aug, 2020

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंंगीकृत नागरिकता दिने नेकपाको निर्णय

बिरगंज सिटी ६ असार २०७७, शनिबार १४:०५मा प्रकाशित (१ महिना अघि) ३०६७ पाठक संख्या

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ ।

शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पार्टीले गरेको बताए ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।

नेकपाका एक नेताका अनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन । नेपाली कांग्रेस र मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् ।

विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ। समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ। समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन्।