आज:  | Mon, 10, Aug, 2020

सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट निष्काशित

बिरगंज सिटी २३ असार २०७७, मंगलवार १७:१९मा प्रकाशित (१ महिना अघि) २१६४ पाठक संख्या

असार २३ काठमाडौं/  समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि पार्टीका महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको तीन सदसीय कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिस गरेको थियो ।

पार्टीको ह्वीप नमानेकोले आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई कारबाही गरेको हो।समाजवादी पार्टीका विश्वदीप पाण्डेले संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरिएको पुष्टि गरे।

‘पार्टीको ह्वीप उल्लंघन गरेको कारणले पार्टीले उहाँलाई कारबाही गरेको छ,’ पाण्डेले भने, ‘सांसद पदबाट पनि र पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय भएको छ ।’ जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो।

संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्तिहरु दिँदै आएकी छन् । गिरिलाई कारबाही गरिएको बारे अब निर्वाचन आयोगलाई जानकारी गराउने तयारी समाजवादी पार्टीको छ ।