आज:  | Mon, 10, Aug, 2020

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बन्यो देशको तेस्रो ठूलो दल

बिरगंज सिटी २५ असार २०७७, बिहीबार १६:५१मा प्रकाशित (१ महिना अघि) २३३२ पाठक संख्या

असार २५ काठमान्डौं/ जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई गठित जसपा दर्ताका लागि गत जेठ २५ गते निर्वाचन आयोगमा निवेदन परेको थियो । निवेदन परेको ठ्याक्कै एक महिनापछि दल दर्ता गर्ने निर्णयमा निर्वाचन आयोग पुगेको हो ।

आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएको छ।

आयोगमा अहिले १३२ राजनीतिक दल दर्ता भएका छन्। दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन्। गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो। एकीकरणअघि यी दुई दल संसदमा तेस्रो र चौंथो दलको हैसियतमा थिए । एकीकरणसँगै संसद्को तेस्रो शक्ति बनेको छ ।

जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन्। तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।