आज:  | Fri, 27, Nov, 2020

स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिरगंज सिटी ७ भाद्र २०७७, आईतवार ०८:३१मा प्रकाशित (३ महिना अघि) २१२२ पाठक संख्या

काठमाडौं। पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका हुन्।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरूले व्यक्तिगत सुरक्षा कवच (पीपीई) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पीपीई लिन उनले अनुरोध गरे।

यस्तै, काठमाडौंमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरूलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पीसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुरोध गरे।

नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पीसीआर परीक्षण गारिएको छ। तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्रमण निको र १४६ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ।