आज:  | Thu, 22, Apr, 2021

संकटको बेलामा सरकारको प्राथमिकतामै परेन खेलकुद

बिरगंज सिटी १९ मंसिर २०७७, शुक्रबार १८:३९मा प्रकाशित (४ महिना अघि) ४८५२ पाठक संख्या

काठमाडौं ,मंसिर १९

कोरोना महामारीले देशको सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, धार्मिक–सांस्कृतिक लगायतका क्षेत्रमा कोरोना महामारीले नराम्रो प्रभाव पारेको छ ।

कोरोना महामारीले दैनिक जीवनसँग सरोकार राख्ने विषयमा पारेको असरबारे चर्चा–परिचर्चा हुने गरे पनि खेलकुद क्षेत्रमा परेको असरबारे खासै चर्चा भएको पाइँदैन । खेलकुदलाई कयौं मुलुकले अर्थतन्त्र एवं पर्यटनको हिस्साका रुपमा लिएको पाइन्छ भने नेपालमा भर्खरमात्र यसको व्यावसायिक विकासक्रम सुरु भएका कारण राज्यस्तरबाट त्यति ठुलो महत्व पाउन सकेको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि जारी गरेको चार महिना लामो लकडाउन, त्यसपछिको निषेधाज्ञाका कारण नेपाली खेलकुद क्षेत्र ठप्प नै रह्यो । नियमित अभ्यास तथा प्रशिक्षण एवं प्रतिस्पर्धाको अभावमा खेलाडीहरुको क्षमता अभिवृद्धि पनि स्वाभाविक रुपमा ठप्प नै भयो ।

कोरोना महामारीका कारण नेपाली खेलकुद क्षेत्रले व्यहोरेको क्षति राज्यले अझै लेखाजोखा गरिसकेको छैन । दक्षिण एसियाली खेलकुदमा नेपालले हासिल गरेको सफलताबाट खेलाडीहरुको आत्मबल बढेको समयमा नेपाली खेलकुदले जुन छलाङ मार्न सक्थ्यो, त्यो अवसरलाई पनि कोरोना महामारीले प्रतिफलविना नै तुहाइदियो ।

कोरोना महामारीमा नेपाली खेलकुद क्षेत्रले व्यहोरेको क्षतिलाई व्यवस्थापकीय कुशलताका साथ कम गर्न सक्ने सम्भावना थियो वा यो क्षति कसैको बलबुताले टर्न सक्दैनथ्यो भन्ने अहम् प्रश्न हाम्रासामु तेर्सिएको छ । अर्कोतिर यो क्षतिलाई कसरी पूर्ति गर्ने, यसले नेपाली खेलकुद क्षेत्रलाई कहिलेसम्म प्रभावित गरिरहन्छ भन्ने प्रश्न पनि अहम् रुपमा उठेको छ ।

 

कोरोना महामारीको अवस्थालाई ख्याल गरेर सम्भव भएसम्म दर्शक राखेर प्रतियोगिता गर्ने, त्यो सम्भव नभएको अवस्थामा आंशिक दर्शक राख्ने, त्यो पनि भएन भने दर्शकविना नै प्रतियोगिता गर्ने भनेर योजना बनाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल कोरोना महामारी नेपालमा भित्रिएको सुरुवाती चरणमा कुनै पनि कुरा आँकलन गर्न सक्ने अवस्था रहेका कारण ‘लकडाउन’ मा जानु परेको स्मरण गर्दछन् । केही महिनाको अवस्था मूल्यांकन गरेपछि खेलाडीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य राख्ने कार्यक्रम, प्रशिक्षकसँग जोड्ने र आवश्यक प्रशिक्षण लिने व्यवस्था ‘अनलाइन’ मार्फत गरिएको उनले बताए ।

अहिले सरकारको अनुमतिमा हेल्थ प्रोटोकलअनुसार केही प्रशिक्षण सुरु भएको र केही खेलकुद पनि सञ्चालन भएको उनको भनाइ छ । ‘विस्तारै खेलकुद क्षेत्रमा पनि गतिविधि हुँदैछ, भर्खरै नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल भयो, नेपालगंज म्याराथन भयो,’ उनले भने, ‘प्रशिक्षण सबै ठाउँमा लगभग सुरु भइसकेको अवस्था छ । प्रतियोगिताको सवालमा पनि हामीले क्यालेन्डर बनाउनुस् भनेका छौँ ।’

कोरोना महामारीको अवस्थालाई ख्याल गरेर सम्भव भएसम्म दर्शक राखेर प्रतियोगिता गर्ने, त्यो सम्भव नभएको अवस्थामा आंशिक दर्शक राख्ने, त्यो पनि भएन भने दर्शकविना नै प्रतियोगिता गर्ने भनेर योजना बनाइएको उनले जानकारी दिए । उनले चाँडै नै सातै प्रदेशमा दुई दिने प्रशिक्षण राखिने बताए ।

उनले भने, ‘ओलम्पिक प्रतियोगितामा नेपाल छनोट भइसकेको खेल र वाइल्ड कार्डको प्रतीक्षामा रहेका खेलको तयारी थाल्न भनेका छौँ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ कोरोना महामारीले नेपाली खेलकुद क्षेत्रमा धेरै असर परेको बताउँछन् । सरकारको प्रोटोकलमा खेलकुद क्षेत्र सबैभन्दा अन्तिममा रहेका कारण पनि नेपाली खेलकुदले यो अवधिमा निकै ठुलो क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

‘यो क्षेत्र प्राथमिकतामा नपर्दा समयमै खेलाडीलाई कसरी अभ्यासमा ल्याउने ? ग्राउन्डमा कसरी ल्याउने भन्ने सोचाइ भएन,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘जसले गर्दा खेलाडीको विकास र क्षमता अभिवृद्धिमा निकै ठुलो असर गरेको छ । हाम्रा खेलाडीले भोलि अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने प्रतिस्पर्धामा पनि यसले असर गर्दछ ।’

‘यो क्षेत्र प्राथमिकतामा नपर्दा समयमै खेलाडीलाई कसरी अभ्यासमा ल्याउने ? ग्राउन्डमा कसरी ल्याउने भन्ने सोचाइ भएन,’ उनले भने, ‘जसले गर्दा खेलाडीको विकास र क्षमता अभिवृद्धिमा निकै ठुलो असर गरेको छ । हाम्रा खेलाडीले भोलि अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने प्रतिस्पर्धामा पनि यसले असर गर्दछ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोनाले २०७७ सालको क्यालेन्डर भताभुङ्ग पारिदिएको बताउँछन् । ‘फुटबल क्षेत्रको कुरा गर्ने हो भने ए डिभिजन लिग पनि गर्न सकेनौँ, गत वर्षको नेशनल लिग पनि हुन सकेन । महिला लिग पनि हुन सकेन, बी डिभिजन बीचैमा रोक्नु पर्‍यो । सी डिभिजन सुरु नै गर्न सकिएन,’ उनले भने, ‘विश्वकप क्वालिफाइङमा तीनवटा म्याच खेल्न बाँकी थियो, त्यो पनि स्थगित भयो । फुटबलमा धेरै नै धक्का लागेको छ ।’

अब कसरी अघि बढ्ने भन्नेबारेमा एन्फाले चाँडै नै निकास खोज्ने उनले बताए । मंसिर २५ गते बस्ने कार्यसमितिको बैठकले यस विषयमा छलफल गरेर सरकारसँग सहमति लिएर अगाडि बढ्ने उनको भनाइ छ ।

क्रिकेट एसोसिएसन अफ नेपानल (क्यान) का सचिव अशोकनाथ प्याकुरेल पनि कोरोनाले सम्पूर्ण खेल क्षेत्रलाई असर पारेको बताउँछन् । ‘खासगरी क्रिकेटजस्तो खेललाई बढी गाह्रो बनायो । किनकि यो सिजनल खेल हो,’ उनले भने, ‘वर्षामा यसको गतिविधि हुँदैन । चैतबाट लकडाउनमा गयौँ, त्यसबेला हामी राष्ट्रिय प्रतियोगिता, महिला क्रिकेट प्रतियोगिता, यु–१९ प्रतियोगिता गर्ने र जेठको पहिलो हप्तासम्म यी प्रतियोगिताहरु सक्ने योजनामा थियौँ । ती कुनै पनि प्रतियोगिता हामीले गर्न सकेनौँ ।’

प्रतियोगिता नहुँदा परेको असर

राखेप सदस्यसचिव सिलवालका अनुसार देशभित्र खेलकुदका गतिविधि ठप्प भएकोमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितासमेत कोरोना महामारीका कारण ठप्प भए । आन्तरिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ठप्प भएका कारण खेलाडीको स्तरवृद्धि, क्षमता अभिवृद्धिमा असर गरेको उनले बताए ।

‘खेलाडी भन्नासाथ उसले नियमित प्रशिक्षण गर्ने, त्यसको आधारमा आफूसँग रहेको प्रतिभा प्रष्फुटन गर्ने हो,’ उनले भने, ‘त्यो गर्न नपाउँदा खेलाडीमा स्वाभाविक रुपमा असर पर्छ नै । विस्तारै अन्तर्राष्ट्रियस्तरमा प्रतियोगिता हुन थालेको छ । अब सहज हुँदै जान्छ कि भन्ने अपेक्षा गरेका छौँ ।’ तर यसका लागि पनि हरेक देशका आफ्नै स्वास्थ्य प्रोटोकल रहेका कारण केही समस्या रहने उनले बताए । ‘हाम्रोमात्र हेल्थ प्रोटोकल भएर हुँदैन, उनीहरुको हेल्थ प्रोटोकल पनि हेर्नुपर्ने हुन्छ । हामीकहाँ विदेशीलाई १४ दिन क्वारेन्टिन गर्ने भन्ने छ, भर्खरै हामीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल गर्दा त्यहाँ ७ दिन क्वारेन्टिन बस्दा हुने रहेछ । देश–देशमा हेल्थ प्रोटोकल फरक रहेका कारण पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समस्या छ,’ उनले भने । यही समस्याका कारण पनि अहिले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गर्न र सहभागी हुन समस्या हुने गरेको उनले बताए ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ पनि मैदानमा खेल्दा खेलाडीको क्षमता जुन रुपमा विकास हुन्थ्यो, घरमा सीमित रहेर अभ्यास गर्दा त्यो अनुपातमा हुन नसक्ने भएकाले खेलाडीको क्षमता अभिवृद्धि, ज्ञान, कौशल तथा आत्मविश्वासमा पनि प्रभाव परेको बताउँछन् ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ पनि मैदानमा खेल्दा खेलाडीको क्षमता जुन रुपमा विकास हुन्थ्यो, घरमा सीमित रहेर अभ्यास गर्दा त्यो अनुपातमा हुन नसक्ने भएकाले खेलाडीको क्षमता अभिवृद्धि, ज्ञान, कौशल तथा आत्मविश्वासमा पनि प्रभाव परेको बताउँछन् ।

यसबीचमा खेलकुद संगठनहरु, ओलम्पिक कमिटीले खेलाडीलाई आफ्नै घरमा कसरी फिट रहने भनेर केही मात्रामा प्रयास गरेको उनले बताए । ‘ओलम्पिकको क्वालिफाइङ्ग राउन्डमा भनेर स्कलरसीप दिएर राखेका खेलाडीलाई पनि लकडाउनको बेलामा प्रशिक्षकसँग कसरी सम्पर्कमा राख्ने भनेर प्रयास गर्‍यौँ,’ उनले भने, ‘खेलाडीको वजन नबढोस्, फिटनेस कायम होस् भनेर अनलाइनबाट भए पनि प्रशिक्षण गरेका थियौँ ।’

क्यानका सचिव प्याकुरेल क्रिकेटमा अन्तर्राष्ट्रिय क्यालेन्डर, घरेलु क्यालेन्डर, अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार खेल्नलाई चाहिने ‘विन्डो’ प्राप्त गर्न कोरोना महामारीका कारण गाह्रो बनाइदिएको बताउँछन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सम्बन्धित मुलुकका क्यालेन्डर, आइसीसीको क्यालेन्डर, सम्बन्धित देशको मौसम लगायत धेरै कुरा विचार गर्नुपर्ने भएकाले कोरोनाका कारण स्थगित प्रतियोगिता, यसबीचमा गुमेका अन्य खेल तालिका पूर्ति गर्न सहज नहुने उनको भनाइ छ ।

‘क्रिकेट एक दिन खेलेर हुँदैन, प्रतियोगिताका लागि ७÷१० दिनको समय लाग्छ,’ उनले भने, ‘त्यसले गर्दा घरेलु लिग, अम्पायर, प्रशिक्षकको प्रशिक्षणहरु जसरी जिल्ला–जिल्लाबाटै प्रतिश्पर्धा गराएर ल्याउने भनेका थियौँ, ती सबै योजनाहरुलाई कोरोना महामारीले असर गरेको छ ।’

एक त सिजनमा खेल्नुपर्ने, अर्कोतिर खेल्नका लागि ‘विन्डो’ पाउनुपर्ने बाध्यकारी अवस्था खप्टिँदै गइरहेकाले आगामी दिन अझ चुनौतीपूर्ण हुने उनले बताए ।

‘हामीले गुमाएको यो समय र अवसरलाई चाँडोभन्दा चाँडो पूर्ति गरेर हाम्रो एक दिवसीय स्टाटसलाई कसरी जोगाइराख्ने भन्नेमा क्यानले विभिन्न उपायहरु अवलम्बन गर्न लागेको छ,’ उनले भने, वर्षाको तीन महिना त सामान्य अवस्थामा पनि क्रिकेट खेलिँदैनथ्यो । त्यसबाहेक चार÷पाँच महिना हामीले कोरोना महामारीका कारण गुमाएका छौँ । त्यसलाई पूर्ति गर्नेगरी हामीले अहिले तयारी थालिसकेका छौँ ।’

सागको सफलतापछिको उत्साहमा ‘ब्रेक’

 

सागमा नेपालले पाएको सफलताले नेपाली खेल क्षेत्र उत्साहित भएको थियो । तर त्यो उत्साहलाई कोरोना महामारीले केही हदसम्म ‘ड्यामेज’ गरिदिएको छ ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले ऐतिहासिक सफलता हात पार्‍यो । प्रतियोगितामा कुल ५१ स्वर्ण पदक हात पार्दै नेपालले दोस्रो स्थान हासिल गरेको थियो । सागमा नेपालले पाएको सफलताले नेपाली खेल क्षेत्र उत्साहित भएको थियो । तर त्यो उत्साहलाई कोरोना महामारीले केही हदसम्म ‘ड्यामेज’ गरिदिएको छ ।

सागमा सफलताले ल्याएको उत्साहमा टेकेर थप उपलब्धिका लागि मेहनत गर्नुपर्ने समयमै कोरोना महामारीले खेलकुद क्षेत्रका गतिविधि नै ठप्प हुँदा सोचेअनुसार स्तरवृद्धिका कार्यक्रम हुन नसकेको जानकारहरु बताउँछन् ।

सदस्यसचिव सिलवाल भने यसमा पूर्ण सहमत छैनन् । उदाहरण दिँदै उनले भने, ‘भर्खरै बंगलादेशसँग भएको मैत्रीपूर्ण फुटबल हेर्ने हो भने पहिलो खेलमा हाम्रा खेलाडीहरुमा फिजिकल फिटनेस नभएको देखियो, दोस्रो खेलमा केही सुधार पनि आयो । अर्कोतिर नेपालगञ्ज म्याराथनमा निरन्तर अभ्यासले हाम्रो क्षमता अझ खारिएको पाइयो । नेपाली भूमिमा भएको हाम्रो रेकर्ड तोडियो ।’

कोरोना महामारीका बीच पनि मार्सल आर्टको धेरै ‘भर्चुअल’ प्रतियोगिता भएको उदाहरण दिँदै उनले भने, ‘तिनमा हाम्रो उपलब्धि राम्रो छ । एकल खेलहरुमा जसले राम्रो अभ्यास गरेको छ, उसले राम्रो नतिजा पनि ल्याएको छ । त्यसैले हामीले प्रशिक्षकहरुलाई थोरै संख्यामा खेलाडी राखेर प्रतियोगिता सुरु गर्न भनेका छौँ ।’

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ दक्षिण एसियाली खेलकुदमा नेपालले हासिल गरेको उपलब्धिले नेपाली खेल क्षेत्रमा जगाएको उत्साहलाई कोरोना महामारीले ‘ब्रेक’ लगाएको बताउँछन् । ‘यतिका महिना खेलकुदका गतिविधि ठप्प हुँदा स्वाभाविक रुपमा खेलाडीको स्तर तल झर्छ,’ उनले भने, ‘त्यसलाई रिकभर गर्नका लागि हामीले अब धेरै मेहनत गर्नुपर्ने आवश्यकता हुन्छ ।’

खेलाडीको आर्थिक अवस्थामा असर

कोरोना महामारीले खेलाडीहरुको आर्थिक अवस्थामा पनि नराम्रो प्रहार गरेको छ । खेलका प्रतियोगिताहरु नहुँदा कयौं खेलाडीको आर्थिक अवस्था नाजुक बनेको छ ।

राखेपका सदस्यसचिव सिलवाल पनि यसका सहमत छन् । तर यो कसैको नियन्त्रणमा नरहने विषय हुनका साथै विश्वमै यस प्रकारको समस्या रहेको बताउँछन् । उनले नेपाली फुटबल खेलाडीको उदाहरण दिँदै भने, ‘हाम्रा फुटबल खेलाडीले नियमित रुपमा तलब पाउने भनेको फुटबल क्लब र विभागीय टिमबाट हो, त्यसमा पनि तीन वर्गका खेलाडी हुन्छन्, पहिलो वर्गकाले नियमित तलब पाउँछन्, दोस्रो वर्गकाले करारका आधारमा तलब पाउने र तेस्रो वर्गले प्रतियोगितामा खेलेबापत पैसा पाउने गर्दछन् ।’

कोरोना महामारीले नियमित तलब पाउने खेलाडीलाई खासै असर नगरेको उल्लेख गर्दै उनले त्यसबाहेकका खेलाडीलाई भने समस्या भएको बताए । ‘फुटबलकै कुरा गर्ने हो भने नेपालमा ए डिभिजनस्तरीय वार्षिक २० वटा प्रतियोगिता हुने गर्दछ । ए, बी र सी स्तरका गरेर पोहोर ६५ वटा प्रतियोगिता थियो,’ उनले भने, ‘तीमध्ये कतिपय प्रतियोगिता कोरोनाका कारण अहिले हुन पाएन । अभ्यासका बेला पाउने र खेल खेलेबापत पाउने रकम खेलाडीले ती खेलहरु नहुँदा पाएनन्, खेल नै नभएपछि पैसा नपाउनु स्वाभाविक हो, यो समस्या विश्वस्तरमै छ ।’ तर पनि अन्तर्राष्ट्रियस्तरमा जस्तो हामीकहाँ ठुलो असर नपरेको उनले बताए ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ कोरोना महामारीका कारण खेलाडीहरुमा आर्थिक समस्या परेको बताउँछन् । ‘खेलकुद प्रतियोगिता नै नभएपछि खेलाडीलाई आर्थिक समस्या त पर्ने नै भयो,’ उनले भने, ‘त्यसै पनि नेपालमा खेलकुदको व्यावसायिकता कमै भएको छ । क्रिकेट, फुटबल, भलिबलजस्ता केही खेलकुदमा व्यावसायिकता सुरु भइरहेको छ । तै पनि असर त पार्ने भयो नै । यी संघहरुले यसबीचमा खेलाडीलाई सपोर्ट गर्ने काम भइरहेको भन्ने बुझेको छु ।’

खेलकुदलाई प्राथमिकतामा राखेर, मापदण्ड पालना गरेर कसरी अघि बढाउन सकिन्छ भन्नेमा सम्बन्धित निकायको ध्यान अलि कम गएको उनको भनाइ छ ।

एन्फा अध्यक्ष शेर्पा पनि कोरोना महामारीका कारण लामो समय खेल प्रतियोगिता नहुँदा खेलाडीको आर्थिक अवस्थामा धक्का लागेको स्वीकार गर्छन् । ‘त्यो हामीले गरेर भएको होइन । हामीलाई पनि कठिन नै छ,’ उनले भने, ‘एएफसीले हामीलाई दिने सहयोगमा पनि कटौती भएको छ । प्रायोजकहरुले पनि खेल नहुँदा पैसा दिँदैनन् । एन्फा, खेलाडी, प्रशिक्षक, रेफ्रीहरुको अवस्था पनि नाजुक नै छ ।’

एन्फा अध्यक्ष शेर्पा पनि कोरोना महामारीका कारण लामो समय खेल प्रतियोगिता नहुँदा खेलाडीको आर्थिक अवस्थामा धक्का लागेको स्वीकार गर्छन् । ‘त्यो हामीले गरेर भएको होइन । हामीलाई पनि कठिन नै छ,’ उनले भने, ‘एएफसीले हामीलाई दिने सहयोगमा पनि कटौती भएको छ । प्रायोजकहरुले पनि खेल नहुँदा पैसा दिँदैनन् । एन्फा, खेलाडी, प्रशिक्षक, रेफ्रीहरुको अवस्था पनि नाजुक नै छ ।’

पछिल्लो समय नेपालले फुटबल, क्रिकेट, भलिबल, मार्शल आर्टजस्ता खेलमार्फत हासिल गरेको सफलताले नेपाली खेलकुद क्षेत्रको भविष्यप्रति विश्वास गर्न सक्ने आधार बनेको थियो । त्यो आधारलाई जोगाउन संकटको यो अवस्थामा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । कोरोना महामारीका कारण ७÷८ महिना खेलकुदका गतिविधि ठप्प भएका कारण खेलाडीहरुमा परेको आर्थिक, शारीरिक र मानसिक असरलाई न्यूनीकरण गर्दै सरकारले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेर आवश्यक योजनासहितको सहयोग नगर्ने हो भने नेपाली खेलकुद क्षेत्रले आगामी केही वर्षसम्म नराम्रो धक्का महसुस गरिरहनुपर्ने जानकारहरु बताउँछन् । साभार रातोपाटि