काठमाडौं ,मंसिर २३
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्दैछ ।
योसँगै हालसम्म ८,८४८ मिटर कायम रहँदै आएको सगरमाथाको नयाँ उचाइ कति होला भन्ने तर्फ अहिले सबैको चासो बढेको छ । सन् १९५३ मा गरिएको मापनले तय गरेको सगरमाथाको उचाइ अहिलेसम कायम रहँदै आएको हो । पहिलोपटक नेपाल सरकारले आफैंले मापन गरेर झण्डै ६७ वर्षपछि सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्न लागेको हो ।
नयाँ उचाइबारे अहिलेसम्म कुनै जानकारी नआए पनि विश्वका पर्वत विज्ञहरुले भने सगरमाथाको उचाइ पहिलेभन्दा झण्डै दुई मिटरसम्म बढेको अनुमान गरेका छन् । अर्थात सगरमाथाको नयाँ उचाइ ८,८५० पुगेको हुनसक्ने उनीहरुको अनुमान छ ।
वैज्ञानिकहरुका अनुसार सगरमाथाको उचाइ हरेक वर्ष दुई इञ्चको दरमा बढिरहेको छ ।
अमेरिकाको बोस्टन म्युजियम अफ साइन्सका प्राध्यापक वासबर्नको टिमले केही वर्ष अघि राडारको माध्यमबाट गरिएको अनुमानित मापन अनुसार सगरमाथाको उचाइ साविकभन्दा ७ फिट बढी रहेको पाइएको रिपोर्ट ट्रेकिङ एक्सपर्ट अनलाइनले जनाएको छ ।
यो सन् २०१७ को रिपोर्ट हो । उक्त अध्ययनमा जिपीएस प्रविधिको समेत प्रयोग गरिएको थियो ।