सिरहा – सिरहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीले भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलेको छ । भारत बिहार राज्यको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले वडाध्यक्ष अन्सारीको सिफारिसमा नेपाली नागरिकता प्राप्त गरेको खुलासा भएको हो ।
सिरहा क्षेत्र नम्बर २ का सांसद एवं जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रतिनिधिसभा बैठकमा यो विषय उठाएपछि घटनाबारे व्यापक चर्चा भएको छ । सांसद यादवले सत्ता पक्षका व्यक्तिहरूले नागरिकता खरिद–बिक्री गरिरहेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
कसरी भारतीय नागरिकले पाए नेपाली नागरिकता?
२०८० असारमा वडाध्यक्ष अन्सारीको सिफारिसका आधारमा मोस्ताक मियाँले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका थिए । नागरिकताको लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई मोस्ताकका बाबुआमा देखाइएको थियो। वडाध्यक्ष अन्सारीले उनीहरूको सनाखत गरी नागरिकता सिफारिस गरेको विभिन्न उजुरीमा उल्लेख छ ।
स्थानीय इनुस अन्सारीले यो घटनाको उजुरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याएका छन्। तर, हालसम्म कुनै ठोस कारबाही नभएको उनको गुनासो छ ।इनुस अन्सारीका अनुसार मोस्ताक मियाँले वडाध्यक्ष अन्सारीलाई एक लाख भारतीय रुपैयाँ दिएर नागरिकता सिफारिस गराएको बताएका छन् । इनुसले यसबारे तुरुन्तै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार र गृहमन्त्रालयसम्म पुगेकाे थियाे ।
यता वडाध्यक्ष अन्सारीले गल्ती भएको स्वीकार्दै नागरिकता खारेजीको लागि पत्र पठाइसकेको बताए । उनले भने, "पालिकाको कार्यक्रमका कारण व्यस्त थिएँ । फाइलहरू नहेरी हस्ताक्षर गरेछु । अहिले नागरिकता जफत भइसकेको छ । "सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने व्यक्ति, र सनाखत बस्नेहरूसँग बयान लिइसकिएको छ । उनले थप अनुसन्धान भइरहेको बताए ।
यता, नागरिकताका लागि बाबुआमा बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूले मोस्ताक मियाँलाई नचिनेको बताएका छन् । अमानतले भने, "वडा कार्यालयमा आफ्नो कामका लागि गएको बेला अध्यक्षले हस्ताक्षर गर्न भनेका थिए । केही नहेरी हस्ताक्षर गरिदिएँ, पछि थाहा पाइयो कि नागरिकता बनाइएको रहेछ ।"