सञ्चारिका समूह नेपालको दोस्रो मधेस प्रदेश अधिवेशन महोत्तरीको बर्दिबासस्थित होटल गुञ्जामा मंगलबार सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनको भावी कार्यदिशा तय गरेको छ । अधिवेशनले सर्वसम्मत रूपमा सुनिता बराललाई मधेस प्रदेश अध्यक्ष चयन गरेको हाे । त्यस्तै, उपाध्यक्षमा सुधा देव, महासचिवमा यमुना खनाल, सचिवमा कविता खडका र कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा शारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रञ्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र रिना आले चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बरालले महिला पत्रकारहरूको पेशागत सुरक्षा, भौतिक सुरक्षा तथा क्षमता अभिवृद्धि आफ्नो प्राथमिक रहने बताइन् । साथै, उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकार महिलाको अधिकारका लागि संघर्ष गर्ने प्रतिवद्धता जनाइन् ।
अधिवेशनको बन्द सत्रमा सञ्चारिका समूहका केन्द्रीय सदस्य सलोजा दाहालको विशेष उपस्थिति रहेको थियो । उक्त अधिवेशनले संगठनको भावी कार्ययोजना तय गर्दै, मधेस प्रदेशभरिका महिला पत्रकारहरूको सशक्तिकरण र अधिकार संरक्षणमा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।