होली पर्वलाई सभ्य, सुरक्षित र भव्य बनाउन पर्सा जिल्लामा विशेष सुरक्षा रणनीति लागू गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राका अनुसार, होलीका अवसरमा कुनै पनि हिंसात्मक वा अवाञ्छित गतिविधि हुन नदिन ७० प्रतिशत सुरक्षा निकाय परिचालन गरिएको छ । एसपी मिश्राले भने, ‘‘होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ । आवश्यक परे थप प्रहरी बल मगाएर शान्ति सुव्यवस्था कायम गर्नेछौँ ।’’ त्यसको माग समेत हामीले गरेका छौँ ।
पर्सा प्रहरीले सार्वजनिक स्थानमा अमर्यादित व्यवहार गर्ने, जबरजस्ती रङ्ग दल्ने, मादक पदार्थ सेवन गरेर उपद्रव मच्चाउने तथा हिंसा भड्काउनेलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । एसपी मिश्राका अनुसार, ‘‘यदि कोही अप्रिय गतिविधिमा संलग्न पाइए, तिनलाई तुरुन्त पक्राउ गरी मुद्दा चलाइनेछ ।’’
स्थानीय प्रशासनको समन्वयमा सुरक्षालाई अझ प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक थप प्रहरी माग गरेको छ । होली पर्वमा सम्भावित जोखिम न्यूनीकरण गर्न, संवेदनशील क्षेत्र पहिचान गरी त्यहाँ विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ ।
होली रङ्गको पर्व भए पनि केही व्यक्तिले यसलाई दुर्व्यवहार गर्ने अवसरका रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएकाले प्रहरीले सामाजिक सद्भाव कायम राख्न आमनागरिकलाई सचेत गराएको छ । प्रहरी प्रशासनले अभिभावकलाई आफ्ना छोराछोरीलाई अनुशासित बनाउन अनुरोध गरेको छ ।
पर्सा प्रहरीले जनतालाई कुनै पनि अवाञ्छित गतिविधि देखेमा तुरुन्त प्रहरी कन्ट्रोल नम्बरमा जानकारी गराउन आग्रह गरेको छ ।