रङहरूको पर्व होली आज मनाईदैछ, मधेशमा यसको मौलिक सांस्कृतिक पक्ष हराउँदै गएको देखिन्छ ।
विशेषगरी, होलीसँग जोडिएको परम्परागत 'होरी गीतु अब पहिलेको जस्तो सुनन छाडेको छन् । एक समय गाउँगाउँमा ढोल, मृदंग, झाँझका तालमा गुञ्जिने होरी गीतहरू अहिले विरलै मात्र सुन्न पाइन्छ । आधुनिक संगीतको प्रभाव, प्रविधिको विकास, र नयाँ पुस्ताको चासोको कमीले होरी गीत लोप हुने अवस्थामा पुगेको संस्कृतविदहरुको चिन्ता छ ।
मधेशमा होली पर्वको मुख्य आकर्षण नै होरी गीत थियो । कृष्ण-राधाको प्रेम, सामाजिक व्यंग्य, हास्य-व्यङ्ग्य, र जीवनका विविध रंगहरू समेटेर गाउँने यी गीतहरू मनोरञ्जनसँगै समुदायलाई एकसूत्रमा बाँध्ने माध्यम पनि थिए । स्थानीय लोकसंगीतमा आधारित यी गीतहरूले मधेशी संस्कृतिको विशेष परिचय दिँदै आएका थिए ।
होरी गीतको हराउँदै जानुको पछाडि विभिन्न कारणहरू रहेको संस्कृतविदहरु बताउँछन् ।
नयाँ पुस्ताको चासो कमी – युवाहरू हिन्दी, भोजपुरी र पश्चिमी गीततर्फ आकर्षित भएकाले होरी गीतप्रति रुचि घटेको छ ।
सांस्कृतिक संरक्षणको अभाव – गाउँघरमा सांस्कृतिक कार्यक्रम कम हुँदै गएका छन् । पुराना गायकहरू सक्रिय नहुँदा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।
ध्वनि प्रदूषण र डीजे संगीत – होलीमा अब परम्परागत बाजागाजा होइन, लाउडस्पीकर र डीजे संगीतको हावी हुँदै गएको छ ।
ग्रामीण परिवेशमा परिवर्तन – शहरीकरण, आधुनिकरण र माइग्रेसनको असरले परम्परागत शैली बिस्तारै लोप हुँदै गएको छ ।
संरक्षणका प्रयासहरू आवश्यक
संस्कृति तथा लोकगीतका जानकारहरूका अनुसार होरी गीत जोगाउन विद्यालय तथा समुदायस्तरबाट विशेष कार्यक्रम, प्रतियोगिता र जागरूकता अभियान आवश्यक छ ।
स्थानीय सरकार, सांस्कृतिक संस्थाहरू, तथा मिडियाले यसलाई पुनर्जीवित गर्ने पहल गर्नुपर्ने आवश्यकता रहेको छ । होली मधेशको पहिचानमात्र होइन, यहाँको मौलिक संस्कृतिको एक अभिन्न अंग पनि हो । होरी गीत पुनर्जीवित गर्न नसकिए, निकट भविष्यमा यो इतिहासका पानामा मात्र सीमित हुन सक्ने संस्कृतविदहरुको चिन्ता छ ।