पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा अहिले चैते धानखेती सुरू भएको छ । तर, रासायनिक मलको अभावका कारण किसानहरू समस्यामा परेका छन् ।
विशेषगरी डिएपी, युरिया र पोटास मलको अभावले गर्दा उत्पादनमा असर पर्ने चिन्ता कृष्ककाे बढेको छ । चैते धानबाली रोपाइँ गर्दा प्रति कठ्ठा डिएपी तीन किलो, युरिया डेढ किलो र पोटास डेढ किलो आवश्यक पर्छ । तर, मल सहज रूपमा उपलब्ध नहुँदा किसानहरू महँगो मूल्यमा भारतीय बजारबाट खरिद गर्न बाध्य छन् ।
कृष्कहरूका अनुसार सरकारी निकायहरू मल आपूर्तिमा असफल भएकाले समस्या भाेग्नु परेकाे छ । स्थानीय सहकारीहरूमा मल नभएपछि किसानहरू भारतको भङ्गाहा, इनर्वालगायतका बजारहरूबाट मल ल्याउन विवश छन् । भारतबाट मल ल्याउने क्रममा नेपाल-भारत सीमाक्षेत्रका सुरक्षाकर्मीहरूले किसानहरूसँग दुर्व्यवहार गर्ने गरेको किसानहरूको गुनासो छ ।
उनीहरू मोटरसाइकलमा मल लोड गरेर गाउँगाउँमा बेच्न ल्याउने व्यापारीहरूबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन् । यस क्षेत्रका ८० प्रतिशत खेतीयोग्य जमिनमा चैते धानखेती गरिन्छ । गण्डक नहरदेखि उत्तर ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी नगरपालिकाका किसानहरू चैते धान रोपाइँमा जुटेका छन् ।
चैते धानखेतीका लागि कुलो, भूमिगत सिँचाइ, बोरिङ आदिको प्रयोग गरिन्छ । तर, आकाशे पानी नपरेकाले कतिपय किसानहरूले सिँचाइको अभाव महसुस गरिरहेका छन् ।
साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीमार्फत मात्र रासायनिक मल वितरण हुँदै आएको छ । तर, मागअनुसार मल वितरण गर्न नसक्दा किसानहरू थप समस्यामा परेका छन् ।