पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ कटैयामा रहेको स्वास्थ्य चौकी भवनको स्तरोन्नतिको काम सुरु भएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त ३९ लाख रुपैयाँको लागतमा भवनको तल्ला थप्ने काम थालिएको हो । सोमबार सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले भवनको शिलान्यास गरेका छन् ।
अध्यक्ष यादवका अनुसार, स्वास्थ्य चौकीको सेवा विस्तार गर्न र स्वास्थ्य सुविधालाई अझ प्रभावकारी बनाउन भवनको माथिल्लो तल्लामा आकस्मिक कक्ष (इमर्जेन्सी कक्ष) निर्माण गरिन लागिएकाे हाे । यसका चाहिने ठूलो आकस्मिक कक्ष कोठा तथा सेवाग्राहीहरूको सहजताका लागि शौचालयसमेत निर्माण गरिँदै छ ।
स्वास्थ्य सेवा लिने बिरामीहरूको चाप दिनप्रतिदिन बढ्दै गएपिछ थप संरचना आवश्यक रहेकाले आकस्मिक कक्ष बनाउन लागिएकाे हाे ।
भवनको तल्ला थपिएपछि स्वास्थ्य चौकीमा आकस्मिक सेवा सञ्चालन गर्न सहज हुने र त्यसबाट बिरामी तथा सेवाग्राही थप लाभान्वित हुने विश्वास लिइएको छ । अध्यक्ष यादवले स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा अझ प्रभावकारी र सुलभ बनाउने लक्ष्यका साथ अन्य स्वास्थ्य सम्बन्धी पूर्वाधार विकासका कार्यक्रम अघि बढाइने बताए ।
स्वास्थ्य चौकीमा अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा भौतिक संरचना निर्माणलाई प्राथमिकता दिदैँ गाउँपालिकाले स्वास्थ्य चौकीमा नियमित सेवा प्रवाहका साथै मातृशिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, औषधि आपूर्ति र आपतकालीन अवस्थामा सहयोग पुर्याउने सेवाहरू विस्तार गर्ने योजना बनाएको छ ।