मधेश प्रदेश सरकारले अवैध ठहर गर्दै बन्द गराएको जनकपुर सिता हस्पिटल प्रक्रिया पूरा नगरी पुनः सञ्चालन गरेको भन्दै अस्पतालका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखिया पक्राउ परेका छन् ।
उनीहरूलाई अस्पताल दर्ता नगरी सञ्चालन गरेको र स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत माघ २६ गते अनुगमनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित उक्त अस्पताल अवैध रूपमा सञ्चालन भएको पत्ता लगाएका थिए ।
उनले अस्पताल दर्ता गरी मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिए पनि अस्पताल प्रशासनले निर्देशनको पालना नगरी लुकीछिपी पुनः सञ्चालन गरेको पाइएको छ।
प्रहरीले अनुगमनका क्रममा अस्पतालको मूल गेटमा ‘यो अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइएको देखे पनि भित्र उपचार कार्य सञ्चालन भइरहेको फेला पारेपछि अस्पतालमा छापा मारेको थियो । त्यही क्रममा म्यानेजर महतो र बिचौलिया मुखिया पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार अस्पताल दर्ताविहीन भएर सञ्चालन गर्नु गम्भीर अपराध हो । यस्तो घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने पक्राउ गरिएको हो ।
धनुषा, पर्सा, बारा, रौतहट लगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै अवैध रूपमा अस्पताल सञ्चालन गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसअघि मधेश प्रदेश सरकारले मधेशका १ सय १२ अवैध अस्पताल बन्द गराएका छन् ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सतिश कुमार सिँहको नेतृत्वमा हालसम्म १६२ निजी स्वास्थ्य संस्थाहरूको अनुगमन भइसकेको छ । भने, अनुगमनका क्रममा १७ अस्पताल मात्र मापदण्डअनुसारका पाइएका छन् भने १ सय १२ वटा मापदण्ड विपरीतका बन्द गरिएका छन् ।