राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन् ।
शनिबार चितवनबाट शुभारम्भ गरिएको "जनयात्रा" कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले रवि लामिछानेमाथि भएको निर्णय बदनीयतपूर्ण भएको आरोप लगाउँदै यसबारे अन्तर्राष्ट्रिय फोरमहरूमा मुद्दा उठाउने बताएका हुन् । उनले जेनेभास्थित इन्टर पार्लियामेन्टरी युनियन (आईपीयू) लगायतका अन्तर्राष्ट्रिय संस्थामा सभापति लामिछानेको निलम्बनको मुद्दा लैजाने स्पष्ट पारे । “यत्रो जनमत प्राप्त गरेर निर्वाचित भएका प्रतिनिधिको सांसद पद खोस्ने काम भयो, यो केवल लोकतन्त्रमाथिको प्रहार मात्र होइन, जनताको अपमान पनि हो,” वाग्लेले भने ।
वाग्लेले तीनकुने घटनालाई पनि अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिए । “तीनकुने घटनामा राज्यले निष्पक्ष छानबिन गर्न सकेन, अब तिनै व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय रुपमा ब्ल्याकलिस्ट गरिनेछ, तिनीहरूलाई सभ्य मुलुकको भिसा समेत नपाइने गरी अन्तर्राष्ट्रिय कानुनी कदम चालिनेछ,” उनले भने ।
त्यस्तै, उनले वाइडबडी काण्डमा भएको भ्रष्टाचारलाई पनि अमेरिकी अदालतमा मुद्दा दायर गरी भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको नाम सार्वजनिक गरिने जनाए । “वाइडबडी काण्डमा लिएको भनिएको घुसबारे प्रमाणहरू जुटाएर अमेरिकी कानुनी निकाय समक्ष पेश गर्ने तयारी भइरहेको छ,” उनले बताए ।
उनले सरकारमाथि आक्रोश व्यक्त गर्दै वर्तमान सत्ता संरचना जनताको मतको अपमान गर्ने र विपक्षी स्वर दबाउने रणनीतिमा लागेको आरोप पनि लगाए । “हामीलाई दबाउने, पेल्ने र कुल्चने सोच राखिएको छ, तर अब त्यो सजिलो छैन, अन्तर्राष्ट्रिय जगतले पनि हेर्नेछ सरकारको रवैया,” उपसभापति वाग्लेले प्रस्ट पारे ।
रास्वपाले देशव्यापी जनसम्पर्क अभियानको सुरुवात चितवनबाट गरेको छ, जसअन्तर्गत जनतामाझ सशक्त संवाद र प्रतिवद्धता पुनः दोहोर्याउने जनाएको छ । पार्टीले यस अभियानमार्फत जनताको पक्षमा उभिने दृढता व्यक्त गरेको छ ।