आयोजक नव जनजागृति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
१५ औं जीतपुरसिमरा गोल्डकपको शनिबार राति सिमरा रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा एन्फा मकवानपुरलाई १–० ले पराजित गर्दै आयोजकले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको निर्णायक क्षण ८५ औं मिनेटमा आयो, जब नव जनजागृति युवा क्लबका मोहित गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलमार्फत टिमलाई अग्रता दिलाए ।
उत्कृष्ट प्रदर्शनका लागि मोहित गुरुङ नै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे, जसलाई ग्रिन इनर्जी प्रालिका संचालक शैलेश शाह ठकुरी र ओम्नी मोटर्सका दिलिप हमालले प्रदान गरेका थिए । प्रतियोगिताको अर्को खेल आज आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मछिन्द्र फूटबल क्लबबीच हुनेछ ।
चैत २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका प्रतिष्ठित क्लबहरू नेपाल पुलिस, मछिन्द्र, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ नगद तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान इलेक्ट्रोनिक्स स्कुटर प्रदान गरिनेछ, जसको प्रायोजन भिएक्सएल एजुकेशनलले गर्नेछ ।
विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार तथा उदयीमान खेलाडीलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख सहयोगमा आयोजना गरिएको हो ।
प्रतियोगितामा एनसेल, सूर्य नेपाल प्रालि, हुलास स्टील, नेपोभिट टायल्स, कोकाकोला, युआर अटोमेटिक लण्ड्री, सुरक्षा मोबाइल, केएनडी लेबर सप्लायर्स, ग्रेस इन्टरनेसनल, केटिएम कन्सल्टिङ ग्रुप, हिमालयन कफी सप, एके अस्पताल, होटल तथा पर्यटन व्यवसायी संघ, सगरमाथा इन्स्योरेन्स, स्टार सिटी अस्पताल, सुसप्त मेडिकल लगायत विभिन्न व्यवसायिक संघसंस्थाहरूले सहयोग रहेको छ ।