गत मंसिरमा सम्पन्न ऐतिहासिक गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन समितिले मेलाबाट १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैयाँ नगद आम्दानी भएको जनाएको छ ।
शनिबार गढीमाई मन्दिर नजिक रहेको विवाह मण्डपको प्राङ्गणमा आयोजित मेलाको आयव्यय सार्वजनिक कार्यक्रममार्फत मुल समितिले उक्त जानकारी दिएको हो । मेलाको प्रमुख आयश्रोतमा मेला अवधिभर सञ्चालन गरिएका विभिन्न व्यवस्थापन र सेवाहरू रहेका छन् ।
यसमा जग्गा भाडा, मनोरञ्जन तथा मेसिन चलाउने, विशेष दर्शन, रागा (पशुबलि), परेवा व्यवस्थापन, मनत मुण्डन, पार्किङ, दानपेटी, पोखरी सञ्चालन, गुदरी बजार, विद्युत तथा धरौटी व्यवस्थापन र नगरपालिकाबाट प्राप्त अनुदान समेत समावेश छन् । मुल समितिका अनुसार मंसिर महिनाभर र माघको खिचडी मेलासम्मको समग्र आय ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।
यस्तै, मेला अवधिभर मन्दिर सजावट, पण्डाल, सुरक्षाकर्मी, सरसफाइ, स्वास्थ्य शिविर, कर्मचारी व्यवस्थापनलगायतका शीर्षकमा ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैयाँ खर्च भएको हो ।
मेला व्यवस्थापन तथा मूल समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आम्दानी भएको रकम मन्दिर र मेलाको पूर्वाधार विकासमा खर्च गरिने जानकारी दिए। “गढीमाई मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन र सेवासुविधा सुधार गर्न यो रकम प्रयोग गरिनेछ,” अध्यक्ष यादवले भने ।
त्यस्तै, मेलामा आएका भक्तजनहरूले चढाएको सुन र चाँदीका गहनाहरू पनि मेला समितिमा सुरक्षित रूपमा राखिएको जनाइएको छ । ती गहना मन्दिरको गरगहना तथा ऐतिहासिक संग्रहको रूपमा सुरक्षित राखिनेछ ।
उक्त कार्यक्रममा गढीमाई मेलामा आर्थिक, भौतिक तथा सेवामूलक सहयोग पुर्याएका व्यक्तिहरूलाई मूल समितिद्वारा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा महागढीमाई नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यापारी, स्वयंसेवक र धार्मिक अगुवाहरूको उपस्थिति रहेको थियो ।