जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सिके राउतले सप्तरीको राजविराज नगरपालिका–१० दिगुवामा निर्माण हुन लागेको प्रादेशिक स्पेस तथा कम्युनिकेशन रिसर्च सेन्टर, कल सेन्टर र इनोभेशन सेन्टरको शिलान्यास गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा डा. राउतले भूमिपूजन गरी अनुसन्धान केन्द्रको औपचारिक शिलान्यास गरे। उक्त कार्यक्रम पर्यटन विकास कार्यालय, लहानको आयोजनामा सम्पन्न भएको हो । शिलान्यास समारोहमा बोल्दै अध्यक्ष डा. राउतले मधेस प्रदेश सरकारले दीर्घकालीन सोचका साथ यो योजना अघि बढाएको भन्दै प्रशंसा गरे। “यो योजना केवल मधेसकै नभई सम्पूर्ण राष्ट्रका लागि महत्त्वपूर्ण छ,” उनले भने, “योजना पूर्ण भएपछि हजारौं युवालाई स्वदेशमै रोजगारी मिल्नेछ ।
” राउतले अनुसन्धान केन्द्रले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनको माध्यमबाट स्थानीय विकासमा योगदान दिने विश्वास व्यक्त गरे । साथै, शिक्षित युवाहरूलाई नयाँ आविष्कार गर्न प्रोत्साहन मिल्ने भन्दै निर्माण कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
फरक प्रसंगमा उनले गणतन्त्र रक्षाको नाममा उठेका द्वन्द्व र राजतन्त्र फर्काउने प्रयासले आन्दोलनका उपलब्धि गुम्ने खतरा रहेको भन्दै संघीय लोकतान्त्रिक मोर्चा गठन गरिएको स्पष्ट पारे। “संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिलाई जोगाउन मोर्चा आवश्यक भएको हो,” उनले भने।
कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री सकिल अली, पूर्वमन्त्री महेश प्रसाद यादव, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र मधेसी, जिल्ला इन्चार्ज रामगमन साहसहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
१ करोड ८० लाख लागतमा बन्ने अनुसन्धान केन्द्र
१ करोड ८० लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त अनुसन्धान केन्द्र निर्माणको जिम्मा डी.एस. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन, टोखा–काठमाडौंले पाएको छ । निर्माण सम्झौता १ करोड १७ लाख २६ हजार ३१२ रुपैयाँमा भएको हो । निर्माण कार्य २०८२ साल असार २० गतेसम्म सम्पन्न गरिने पर्यटन विकास कार्यालय, लहानका प्रमुख उपसचिव बसन्त कुमार दासले जानकारी दिए ।