नयाँ वर्ष २०८२ सुरु हुन अझै केही दिन बाँकी भए पनि महोत्तरीको चुरे पर्वतीय शृङ्खला आसपासका क्षेत्रमा नयाँ वर्षको चहलपहल सुरु भइसकेको छ ।
विशेषगरी जिल्लाका युवा पुस्ता यस वर्षको नयाँ वर्षलाई पृथक ढंगले मनाउन चुरे क्षेत्रका पर्यटकीय सम्भावना बोकेका स्थानहरूको अवलोकनमा जुटिरहेका छन् । सुदूर दक्षिणी भेगका युवाहरूले सामूहिक वनभोजका साथै प्राकृतिक सम्पदाहरूको अवलोकनलाई नयाँ वर्ष मनाउने अवसरका रूपमा लिएका छन् ।
भङ्गाहा–३ कटैयाका २५ वर्षीय सञ्जय यादवका अनुसार, यस वर्ष उनीहरू मधेसकै सबैभन्दा अग्लो चुरे डाँडा चनौटे डाँडाको अवलोकनमा जाने योजना बनाइरहेका छन्। “हामी रमाइलो त गर्छौं, तर यसपटक हामी चुरेको सौन्दर्य, जैविक विविधता र वातावरणीय पक्षलाई पनि नजिकबाट बुझ्न चाहन्छौं,” उनले बताए । चनौटे डाँडा लेकाली हावापानीसहितका फलफूल र तरकारीको उत्पादनका लागि चर्चित छ । यहाँ जुनार, सुन्तला, निबुवा, स्कूस र चुच्चे करेलाको उत्पादन पाइन्छ। गर्मी बढ्दो बेला चनौटेको शितल हावापानीले नयाँ अनुभव दिने यादवको भनाइ छ ।
त्यसैगरी, मटिहानीका युवाहरूले सोलीघोप्टे डाँडा र गिद्धबास क्षेत्रको अवलोकन गर्ने तयारी गरेका छन्। मटिहानी–८ का ३० वर्षीय इसराफुल राइनका अनुसार, “यी ठाउँ साथीहरूका लागि नयाँ हुने भएकाले हामीले सामूहिक अवलोकनको योजना बनाएका हौं ।” सोलीघोप्टे डाँडालाई जडीबुटीको भण्डार मानिन्छ भने गिद्धबासमा लोपोन्मुख गिद्धको बासस्थान रहेको छ ।
बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार, “चुरे पर्वतीय क्षेत्र र यस आसपासमा रहेका राइमण्डलधाम, पञ्चधुरा माईस्थान, कालापानी उद्यान, टुटेश्वरनाथ, पाषाण युगकालीन हतियार कारखाना, झ्याउरेभाङ्रे, छोड्के जस्ता स्थल पर्यटकीय र पुरातात्त्विक दृष्टिले विशेष छन् ।” स्याङ्वाले युवाहरूको यसप्रकारको चासोलाई सराहना गर्दै चुरे क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
टटेश्वरनाथ मन्दिर, जसलाई मधेसको ‘कैलाश’ र नेपालको ‘बाबाधाम’ भनेर चिनिन्छ, धार्मिक महत्व बोकेको स्थल हो। द्वापर युगमा पाण्डवले गुप्तबासका लागि शिवजीबाट वरदान प्राप्त गरेको विश्वास गरिन्छ । राइमण्डलधामस्थित इन्द्रेश्वर लिङ्गसमेत धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । बर्दिबास–३ का वडाध्यक्ष विराट विष्टका अनुसार, नजिकै फेला परेको पाषाण युगकालीन हतियार कारखानाबारे पुरातत्व विभागले थप अनुसन्धान गरिरहेको छ ।
यसरी, महोत्तरीका युवा पुस्ताले चुरे पर्वतीय क्षेत्रप्रति देखाएको चासोले यस क्षेत्रको संरक्षण, अध्ययन, र पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।