विद्यालय शिक्षा ऐन जारी गराउन माग गर्दै आन्दोलनरत शिक्षकहरूले भोली सोमबार (चैत २५ गते) देखि देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत सरकारविरुद्ध अन्तिम तथा निर्णायक आन्दोलनको तयारीस्वरूप हड्ताल घोषणा गरिएको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो ।”
हड्तालको घोषणा गर्दै महासंघले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाडौँको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । यस क्रममा कुनै पनि विद्यालय गतिविधि—जसमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमण जस्ता कार्यक्रम—नगर्न आग्रह गरिएको छ ।
शिक्षक महासंघले अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स), र सम्पूर्ण शैक्षिक सरोकारवालाहरूलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।
गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरू अहिले निर्णायक मोडमा पुगेका छन् । आन्दोलनका कारण देशभरका विद्यालय स्तरका गतिविधिहरू प्रभावित हुन थालेका छन् भने एसईई दिएका विद्यार्थीहरूको नतिजा प्रकाशित हुने समय पनि अन्योलमा पर्ने देखिएको छ ।
सरकारले यसअघि शिक्षकहरूसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै आन्दोलन चर्किएको हो। महासंघका अनुसार, विद्यालय शिक्षा विधेयकमा शिक्षक तथा विद्यालय कर्मचारीका मुख्य मागहरू समेटिनु पर्नेछ ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरूले फागुन २७ देखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिएका थिए भने सांसदहरूसँग भेट गरेर विधेयक पारितका लागि दबाब समेत दिएका थिए ।