बर्दिया | जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको पार्टी एकता प्रक्रियाले तीव्रता पाएको छ । आइतबार बिहान सुरु भएको बैठकमा दुवै दलका कार्यदले तयार पारेको खाकाका आधारमा जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीबीच एकताको टुंगो लगाउन अन्तिम चरणको छलफल भइरहेको छ ।
नाउपाले तय गरेको स्थानमा बैठक बस्नेगरी जनमतका नेताहरू बर्दिया पुगेका हुन्। कार्यदलको बैठक जारी रहेको जनमत पार्टीका प्रवक्ता एवं कार्यदल सदस्य डा. शरदसिंह यादवले जानकारी दिए ।
एकतापछि पार्टीको नेतृत्व संरचना र नामबारे दुई विकल्पमा छलफल भइरहेको जनाइएको छ। पहिलो विकल्पअनुसार, पार्टी अध्यक्षमा डा. राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशम चौधरी रहने प्रस्ताव गरिएको छ । दोस्रो विकल्पमा भने दुई अध्यक्ष प्रणाली रहने, जसमा कार्यकारी अध्यक्ष डा. राउत र दोस्रो अध्यक्ष श्रेष्ठ हुने प्रस्तावमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र नाउपाको चुनाव चिन्ह ‘ढकिया’लाई नै अपनाउने सहमति उन्मुख अवस्था आएको छ । जनमतले ढकियालाई चुनाव चिह्नका रूपमा स्वीकार गर्ने सहमति जनाएको हो ।
एकताका लागि जनमतबाट अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल बनेको छ भने, नाउपाबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा कार्यदलमा रहेका छन्। आज बसिरहेको बैठक कार्यदलको दोस्रोपटकको बैठक हो ।
नेताहरूका अनुसार जनमत पार्टीका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच सहमतिका अधिकांश विषयहरूमा टुंगो लागेको छ। अब निकट भविष्यमै औपचारिक एकता घोषणा हुने अपेक्षा गरिएको छ ।