राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोधकाे आरोप लगाएका छन् ।
अदालतको आदेशपछि सार्वजनिक अभिव्यक्ति दिएका लामिछानेले चार वटा सन्देश दिँदै न्याय प्रक्रियाप्रति विश्वास व्यक्त गरेका छन् । पहिलो सन्देशमा उनले अदालतकाे आदेशप्रति सम्मान रहेको जनाउँदै, आफू कानुनी लडाइँका लागि तयार रहेको बताए। "अदालतकाे आदेशकाे सम्मान छ," लामिछानेले भने, "कानूनले दिएकाे अधिकार प्रयोग गर्छु । तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।"
दोस्रो सन्देशमा उनले न्यायालयबाट अन्याय नहुनेमा विश्वास व्यक्त गरे । तर, आफूमाथि उठेका प्रश्नहरूबारे जवाफ खोजिनुपर्ने बताए । "न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु," उनले भने, "तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन् ।"
तेस्रो सन्देशमा लामिछानेले पार्टीका कार्यकर्तालाई अभियान निरन्तरता दिन आग्रह गरे । "पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहाेला," उनले भने, "सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताकाे बीचमा पुर्याउनुस् ।" चौथो सन्देशमा भने उनले आफू राजनीतिक प्रतिशोधको सिकार बनेकाे बताए । "अहिले ममाथि राजनीतिक प्रतिशाेध भयाे । पालाे सबैकाे आउँछ," उनले भने, "याे परीक्षाकाे पहिलाे विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।"
पार्टी अध्यक्षकाे रूपमा रास्वपाका लागि लामिछानेको यो अभिव्यक्ति भावी रणनीति निर्माणमा प्रभाव पार्न सक्ने देखिन्छ। अदालतको आदेशपछिको उनको पहिलो प्रतिक्रिया विश्लेषणको विषय बन्न थालेको छ ।