सहकारी रकम अपचलन प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । लामिछानेमाथि सुप्रिम सहकारीमा संलग्न रहेको भन्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अब उनी कारागारमा हुँदा पाउने सेवा–सुविधाको विषयमा चासो बढेको छ। कानुन तथा कारागार नियमावलीअनुसार, लामिछानेले "सामान्य श्रेणीका थुनुवा" का रूपमा सेवा सुविधा पाउनेछन् । तर, उनको राजनीतिक हैसियत, पूर्वपद र सुरक्षाको संवेदनशीलता हेरेर केही विशेष व्यवस्था मिल्न सक्ने कारागार प्रशासनले बताएको छ ।
कस्ता हुन्छन् सेवा सुविधा ?
१. आवास र सुरक्षा व्यवस्था
लामिछानेलाई अन्य सामान्य कैदी/थुनुवा भन्दा फरक कोठा वा शौचालयसहितको सुरक्षित कक्षमा राख्न सकिन्छ। सुरक्षाको दृष्टिले एक्लै वा सीमित थुनुवासँग राख्ने व्यवस्था मिलाउन सकिनेछ ।
२. खाना र उपचार सुविधा
अन्य थुनुवाजस्तै नियमित रुपमा सरकारी नियमानुसारको खाना उपलब्ध गराइन्छ । कुनै विशेष स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सिफारिसमा कारागार बाहिरका अस्पतालमा पनि उपचार गर्न मिल्ने व्यवस्था छ ।
३. भेटघाट सुविधा
हप्तामा एकपटक परिवारका सदस्य वा कानुनी सल्लाहकारसँग भेटघाट गर्न पाउने सुविधा रहन्छ । विशेष परिस्थितिमा थप भेटघाट अनुमति लिन सकिन्छ ।
४. पढाइ लेखाइ वा धार्मिक गतिविधि
थुनुवाले पुस्तक पढ्न, धार्मिक अभ्यास गर्न वा मानसिक स्वास्थ्यका लागि योग अभ्यासजस्ता कार्य गर्न सक्छन्, जसमा प्रशासनले सहजीकरण गर्छ ।
५. विशेष श्रेणीको सुविधा ?
लामिछाने उच्च प्रोफाइल व्यक्ति भएपनि कारागार नियमावली अनुसार मात्र सेवा सुविधा मिल्ने हो । "राजनीतिक पहुँच भएको व्यक्ति भनेर विशेष छुट पाइँदैन," भैरहवा कारागार स्रोत भन्छ, "तर सुरक्षा र संवेदनशीलता हेरेर केही फरक व्यवस्था गर्न सकिन्छ ।"