हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ ।
टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको ब्याटिङ आक्रमणमा कुशल भूर्तेलले विस्फोटक सुरुवात दिलाउँदै १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाए । कप्तान रोहित पौडेलले पनि २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै ३७ रनको महत्वपूर्ण योगदान दिए ।
यस्तै, आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमद ३० रनमा अविजित रहे। नेपालले अतिरिक्त १६ रनसमेत प्राप्त गरेको थियो । कतारका बलर मुजीब–उर–रहमानले दुई विकेट लिए पनि अन्य बलरहरू नेपालका ब्याट्सम्यानहरूलाई रोक्न असफल भए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा पाँच विकेट गुमाएर १५१ रन बनाएको थियो । कतारका लागि कप्तान इक्रामुल्लाह खानले उत्कृष्ट प्रदर्शन गर्दै ५४ रन बनाए । उनले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अर्धशतक पुरा गरे । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए। कतारले अतिरिक्त पाँच रन प्राप्त गरेको थियो ।
नेपालका बलिङतर्फ करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारे ।
चारदेशीय टी–२० सिरिजमा नेपालसँगै आयोजक हङकङ, युगान्डा र कतार सहभागी छन् । नेपालले अब अर्को खेलमा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता नेपालका लागि आगामी अन्तर्राष्ट्रिय खेलहरूका लागि तयारीको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।