काठमाडौं महानगरपालिका वडा नम्बर ७, गंगाहिटी मार्गमा अवस्थित भैरव हिटी पुरिएको अवस्थामा रहेको जानकारी जनप्रतिनिधि तथा स्थानीयवासीहरूले सम्पदा विभागलाई दिनु भएको थियो ।
सोही सूचनाका आधारमा सम्पदा तथा पर्यटन विभाग र वडा नं. ७ का जनप्रतिनिधिहरूको संयुक्त अनुगमनका क्रममा हिटीमाथि दुई तल्ले पक्की संरचना बनेको पाइएको थियो । टोल सुधार समितिले भोगचलन गर्दै आएको सो पक्की भवनको माथिल्लो तल्लामा टोल सुधार समितिको कार्यालय थियो भने पहिलो तल्लामा सटरहरू सञ्चालनमा रहेका थिए ।
विभागले टोल सुधार समितिसँग समन्वय गरी सो पक्की संरचना भत्काई हिटी उत्खननको कार्य सुरु गरेको हो । वडा स्तरीय दिगो विकास उपभोक्ता समितिसँग सम्झौता भई विभागले उत्खनन तथा साइड क्लियरेन्सको कार्यादेश दिएको थियो । सोही अनुसार उपभोक्ता समितिले साइड क्लियरेन्सको कार्य सम्पन्न गरेको थियो ।
विभागले २०८१ साल चैत १० गतेदेखि भैरव हिटीको उत्खननको काम सुरु गरेको हो। दैनिक १० जना कामदारको संलग्नतामा उत्खनन कार्य अगाडि बढाइएको थियो। हालसम्म उत्खननको क्रममा हिटीको “माअप्पा“ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब ७ फिट गहिराइसम्म खनेपछि ती संरचनाहरू पत्ता लागेका हुन् ।
पुराना अभिलेखहरू अनुसार, भैरव हिटी अठारौँ शताब्दीमा निर्माण गरिएको हो भने यसको जिर्णोद्धार वि.सं. १९४० मा भएको उल्लेख गरिएको छ । अभिलेख अनुसार, धाराको लम्बाइ २५ फिट ३ इन्च र चौडाइ १५ फिट रहेको छ ।
यसैगरी, वि.सं. २०३६ मा काठमाडौं महानगरपालिकाले तयार पारेको अभिलेख अनुसार, ढुंगेधाराको पूर्वतर्फ बारी, पश्चिमतर्फ गल्ली र उत्तर तथा दक्षिणतर्फ पनि बारी रहेको उल्लेख गरिएको छ ।