सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले कृषिमा संलग्न किसानहरूलाई लक्षित गर्दै खेतखेतमा निशुल्क विद्युत सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
नगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा कृषकहरूलाई झन्झटिलो प्रक्रिया बिना सिंचाइका लागि विद्युत् पहुँच पु¥याइएको हो । विगतमा व्यक्तिगत रूपमा कृषि मिटर जडान गरेर विद्युत लिँदै आएका किसानलाई अब मास्टर मिटर प्रणालीबाट सेवा दिने व्यवस्था मिलाइएको नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
उनका अनुसार किसानले अहिले व्यक्तिगत मिटर जडान गर्नुपर्ने छैन, न त त्यसको लागि मिटर शुल्क तिर्नुपर्ने नै छ । नगरपालिकाले नै मास्टर मिटरमा खपत भएको विद्युत् महसूल भुक्तानी गर्नेछ ।
कार्यक्रम अन्तर्गत अहिलेसम्म ५ वटा ट्रान्सफर्मर जडान भइसकेको र ती ट्रान्सफर्मरमार्फत ८ वटा वडाका किसानहरूलाई निशुल्क विद्युत आपूर्ति सुरु गरिएको नगरप्रमुख माझीले जानकारी दिए । बाँकी ६ वटा वडामा पनि क्रमिक रूपमा ट्रान्सफर्मर र मास्टर मिटर जडान गरिने योजना रहेको उनले बताए ।
करीब २ करोड रुपैयाँ बराबरको यो परियोजनामा नगरपालिका ८० प्रतिशत र विद्युत प्राधिकरण २० प्रतिशत लगानीकर्ताको रुपमा रहेको छ ।
प्रत्येक पोलमा क्लीप बोर्ड जडान गरिएको हुँदा त्यसैबाट किसानहरूले मोटर चलाउन सक्नेछन् । यस व्यवस्थाबाट जग्गाधनी प्रमाणपत्र नपाएका किसानहरूले पनि सुविधा लिन सक्नेछन्, जसले गर्दा कृषि क्षेत्रमा थप सहजता आउने विश्वास पालिकाको छ ।
नगर प्रमुख माझीले भने, “अब किसानले मिटर लिन पनि पर्दैन, शुल्क पनि तिर्नु पर्दैन । यो कार्यक्रमले किसानको उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्न सहयोग पुर्याउनेछ ।”