सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया उत्कर्षमा पुग्दै गर्दा नयाँ विवाद चुलिएको छ ।
आन्तरिक सहमतिसँगै एकताको ढोका खुलेको भनिएपनि पार्टीको नेतृत्व पदको बाँडफाँटलाई लिएर विवाद बढेको छ । जनमत पार्टीले केही व्यक्तिहरूलाई ‘गद्दार’ ठहर गर्दै पार्टी फुटाउने प्रयासमा सक्रिय रहेको आरोपसहित सामाजिक सञ्जालमा पोस्ट गरेको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ माग प्रस्तुत गरेकी छन् ।
पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले पार्टी एकीकरणपछि आफूलाई सीके राउतसरहकै हैसियत दिनुपर्ने माग राखेकी हुन् ।
एकीकृत पार्टीमा सीके राउत अध्यक्ष, रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने सहमति बनेको थियो । साथै, पार्टी संरक्षकमा रेशम चौधरी, दोस्रो वरियतामा अध्यक्ष राउत, र तेस्रोमा श्रेष्ठ रहने सहमति भएको जनाइएको थियो । तर, उक्त सहमतिमा श्रेष्ठ असन्तुष्ट देखिएकी छन् । उनले वरीयतामा सीके राउतसँग बराबरीको स्थान नपाएसम्म एकताको घोषणा गर्न नसकिने अडान लिएकी छिन् ।
यहीबीच, वैशाख १५ भित्र एकता घोषणा गर्ने तयारी भइरहेको बेला श्रेष्ठको नयाँ अडानले एकता प्रक्रिया अन्योलमा पारेको जनमत पार्टीका नेताहरू बताउँछन् ।
स्रोतका अनुसार जनमत पार्टीका नेताहरूले श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेको आरोपसमेत लगाएका छन् । उनीहरूको भनाइमा श्रेष्ठको पछिल्लो गतिविधि एकता प्रक्रियालाई अविश्वसनीय बनाउने र शंका उत्पन्न गराउने खालको छ ।
एकीकृत पार्टीको नाम, झन्डा, सांगठनिक संरचना लगायतका विषयमा आन्तरिक सहमति भइसके पनि नेतृत्वको शक्ति सन्तुलन मिल्न नसक्दा एकता संकटमा पर्न थालेको देखिन्छ ।