वीरगंज कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिलासहित ६२ जना रक्तदाताहरू रक्तदान गरेका छन् ।
कलेज परिसरमा आयोजित कार्यक्रममा रितिका कुमारी महर्जन, प्रीति कुमारी, सुनिता साह, जान्हवी गुप्ता, रिया यादव, श्रवण पटेल, विकेश कुमार, बिनय थारु, नवल किशोर ठाकुर, धिरज दास, नितेश गुप्ता लगायतका विद्यार्थीहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, क्याम्पस सहायक प्रमुख रुदल ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, डा. अशोकराज ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज कलेजले विगतमा हरेक वर्ष माघ महिनामा रक्तदान कार्यक्रम गर्दै आएकोमा यस वर्ष रगतको आपूर्ति र मागलाई मध्यनजर गर्दै चैत महिनामा आयोजना गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । “गर्मी मौसममा रगतको खपत बढ्ने भएकाले यसको आपूर्ति सहज बनाउनु हाम्रो उद्देश्य हो,” उनले भने, “साथै विद्यार्थीहरूलाई रक्तदानको महत्त्व बुझाउँदै सहभागिता जनाउने अवसर प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो ।”
कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली र बीसीए स्टुडेन्ट क्लबले सक्रिय सहयोग पुर्याएका थिए । विद्यार्थी र शिक्षकहरूको व्यापक सहभागिताले वीरगंज कलेजको रक्तदान कार्यक्रमलाई एक प्रेरणादायी र अनुकरणीय कार्य बनाएको सहभागीहरूले बताएका छन् ।