काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि काठमाडौं–ग्वाङ्झाउ हवाई मार्गमा रात्रिकालीन उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले यो सेवा आगामी अक्टोबरसम्मका लागि सञ्चालनमा ल्याउन लागेको हो ।
एयरलाइन्सका अनुसार रात्रिकालीन उडान प्रत्येक दिन राति ११ः३० बजे काठमाडौँबाट ग्वाङ्झाउका लागि हुनेछ । साथै, दिउँसोको उडान तालिकामा पनि समायोजन गरिएको छ । अब काठमाडौँबाट ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने व्यवस्था मिलाइएको छ ।
एयरलाइन्सले जानकारी दिएअनुसार दिउँसोको उडान अप्रिलदेखि मे महिनासम्म आइतबार, सोमबार, बुधवार र बिहीबार मात्रै हुनेछ भने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र उडान हुनेछन् । सेप्टेम्बरदेखि अक्टोबरसम्म भने दिउँसोको उडान दैनिक रूपमा सञ्चालन गरिनेछ ।
चाइना साउदर्नले यस अवधिमा सिट संख्या उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार र ग्वाङ्झाउ–काठमाडौँतर्फ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइनेछ । यो गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६.५ प्रतिशत (छ हजार सिट) र ग्वाङ्झाउ–काठमाडौँमा ३९.९ प्रतिशत (१३ हजार सिट) वृद्धि हो ।
उडान र सिट संख्यामा भएको वृद्धि चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा टेवा पुर्याउने अपेक्षा एयरलाइन्सले लिएको छ ।
"यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो", चाइना साउदर्नले भनेको छ, "कम्पनीले सधैँ दुई देशबिचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्धता जनाउँदै आएको छ, जसले जनतालाई सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्नेछ ।"
यस अभियानले नेपाल पर्यटन उद्योगको विकासमा समेत योगदान पुर्याउने र चीन–नेपाल मित्रतालाई थप प्रगाढ बनाउने विश्वास कम्पनीले लिएको छ ।