जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी नियम उल्लंघन नियन्त्रणका लागि सशक्त अभियान सञ्चालन गर्दै चेकजाँच, जनचेतना कार्यक्रम र कारबाही प्रक्रिया तीव्र बनाएको छ । सोही अभियान अन्तर्गत कार्यालयले पछिल्ला नौ महिनामा मात्रै १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
११ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही
२०८१ सालको श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ११ हजार १ सय २५ जना सवारी चालकलाई नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए । उनका अनुसार अभियानमार्फत चेकजाँचलाई नियमित र प्रभावकारी बनाउँदै सवारी सुरक्षामा जनचेतना फैलाउने प्रयास गरिएको छ ।
बढी राजश्व संकलन हुनुकाे मुख्य कारणा कारबाहीमा परेका चालकहरूले विभिन्न किसिमका नियम उल्लंघन गरेका पाइएको छ । तीमध्ये मदिरा सेवन गरेर सवारी सञ्चालन गर्ने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, सवारीका आवश्यक कागजात नबोक्ने, चालक अनुमतिपत्र नराख्ने, रुट परमिट नलिने तथा सवारीसाधनको बत्ती बिग्रिएको अवस्थामा सञ्चालन गर्ने जस्ता गतिविधि प्रमुख रूपमा देखा परेका छन् । यी उल्लंघनहरू सवारी दुर्घटनाको मुख्य कारण बन्न सक्ने भएकाले प्रहरीले कडाइका साथ कारबाही जारी राखेको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकलदेखि बस, ट्रक, जीप, कार, भ्यानजस्ता सबैखाले सवारीसाधनलाई नियम उल्लंघनमा कारबाही गरिएको हो । ट्राफिक प्रहरीले कानूनको प्रभावकारी कार्यान्वयनसँगै ट्राफिक सचेतना बढाउने कार्यमा पनि जोड दिएको छ ।

सवारी दुर्घटनाको तथ्याङ्क चिन्ताजनक
कार्यालयका तथ्याङ्क अनुसार हालसम्म चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म जिल्लामा ५ सय ३९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने ८ सय ९० जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेको संख्या हेर्दा सवारी सुरक्षालाई अझ गम्भीरतापूर्वक लिनुपर्ने तथ्यांकले देखिएको छ ।
यता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, बजार र सार्वजनिक स्थलहरूमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक नियमको महत्व बुझाउन पर्चा वितरण, साउण्ड स्पिकरमार्फत सन्देश प्रवाह, सडक सुरक्षा सम्बन्धी सेमिनार तथा छलफल कार्यक्रमहरू सञ्चालन भइरहेकाे ट्राफिक कार्यालय राैतहटले जनाएकाे छ । खासगरी किशोर समूह, विद्यार्थी र सार्वजनिक सवारी प्रयोगकर्तालाई लक्षित गरी अभियान चलाइएको छ ।
प्रहरीको अपिल : ‘नियम पालना गरौं, दुर्घटनाबाट बचौं’
प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले सबै सवारी चालक र यात्रुलाई नियमको कडाइका साथ पालना गर्न आह्वान गरेका छन् । उनले दुर्घटना रोक्न ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै नागरिकको साथ आवश्यक रहेको बताए । “हामी चेकजाँच गर्छाै, चेतना फैलाउँछौं तर जिम्मेवारी चालकको आफैकाे हुनुपर्छ,” अधिकारीले बताए ।