नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन निर्धारित मितिमा नहुने स्पष्ट पारेका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले तयारी अपुग भएको कारण मङ्सिर २०८२ भित्र महाधिवेशन सम्भव नहुने बताएका हुन् ।
हुलाकी राजमार्ग हुँदै सप्तरीबाट धनुषा आइपुगेका महतले सञ्चारकर्मीहरूसँगको कुराकानीमा महाधिवेशनका लागि आवश्यक संरचना र प्रक्रिया अझै नजुटेको जानकारी दिए। “महाधिवेशनका लागि अहिलेसम्म सचिवालय गठन भइसकेको छैन । सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम ढिलो भइरहेको छ,” महतले भने, “त्यसैले महाधिवेशनको मिति सार्नुपर्ने अवस्था आएको हो ।”
उनका अनुसार पार्टी विधानअनुसार महाधिवेशनको समय एक वर्षसम्म म्याद थप गर्न सकिने प्रावधान छ । सोहीअनुसार महाधिवेशन २०८३ सालसम्म सारिने सम्भावना रहेको प्रवक्ता महतले संकेत गरे ।
उक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्व उपसभापति तथा नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको समेत उपस्थिति रहेकाे थियो । निधिले पनि पार्टीभित्र आन्तरिक व्यवस्थापन र सांगठनिक सुदृढीकरण आवश्यक रहेको औँल्याउँदै नेतृत्वलाई एकता र पारदर्शितासहित अघि बढ्न सुझाव दिएका थिए ।
महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व परिवर्तन, सांगठनिक विस्तार, गुट–उपगुटको प्रतिस्पर्धा लगायतका विषयले पुनः चर्चा पाउन थालेका छन् । कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका साथै आगामी चुनावी रणनीति तय हुने भएकाले यसको समय सारिनुले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू उत्पन्न गराएको छ ।