वीरगन्ज–कलैया–काठमाडौं रुटमा रात्रीबस सञ्चालन गर्दै आएको ओम बिनायक ट्राभल्सलाई टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सम्मान गरेको छ । टाटा मोटर्ससँग ५० वर्ष लामो सहकार्य पूरा गरेको उपलक्ष्यमा ओम बिनायक ट्राभल्सका तेस्रो पुस्ताका सञ्चालक अच्युत पौडेललाई सम्मान गरिएको हो ।
शुक्रबार वीरगन्जमा आयोजित विशेष कार्यक्रममा, टाटा मोटर्सका सह–महानिर्देशक कृष्ण चन्दले पौडेललाई खादा ओढाएर मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा पौडेल परिवारका सदस्यहरूको पनि उपस्थिति थियो ।
सह–महानिर्देशक चन्दले ओम बिनायक ट्राभल्सले टाटा मोटर्सभन्दा पनि पुरानो इतिहास बोकेको यातायात सेवा प्रदायक भएको उल्लेख गर्दै लगातार पाँच दशकको समर्पणप्रति कदर गरिएको जानकारी दिए । सम्मान ग्रहणपछि अच्युत पौडेलले आफ्नो तीन पुस्ताको निरन्तर यात्राबारे बताएका थिए। उनले भने, “कुनै समय यिनै बसहरूले हाम्रो परिवार डुबेको थियो, तर फेरि उठ्यौं, अगाडि बढ्यौं र सफल भयौं।” उनले सेवामूलक दृष्टिकोण र इमान्दारिताका साथ व्यवसाय गरेमा सफलता अवश्य आउने धारणा व्यक्त गरे ।
हाल ओम बिनायक ट्राभल्सले १५ वटा सुविधासम्पन्न बसमार्फत वीरगन्ज–कलैया–काठमाडौं र वीरगन्ज–नारायगढ रुटमा दिवा तथा रात्री सेवा प्रदान गर्दै आएको छ। कार्यक्रममा नयाँ थप दुई वटा रात्री बसको शुभारम्भ समेत गरिएको थियो। बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले बेलुन उडाएर नयाँ बस सेवाको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र, ट्राफिक प्रहरी प्रमुख भीम किरण बोगटी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, नेपाल पत्रकार महासंघका केसी लामिछानेलगायतको उपस्थिति थियो ।