नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरू दर्ता हुन सरकारले आह्वान गरिरहँदा ती सामाजिक सञ्जालका अडिओ र भिडिओ सामग्रीहरूबाट पछिल्लो आठ महिनामा करिब सवा दुई अर्ब रुपैयाँ आम्दानी भएको छ ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत साउनदेखि फागुन महिनासम्ममा यूट्युब, फेसबुक, टिकटकसहित 'डिजिटल मूभी'लगायत अडियो, भिडिओ र सम्बन्धित सेवाहरूबाट दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको छ ।उक्त शीर्षकअन्तर्गत नै सोही अवधिमा नेपालबाट ७२ करोड ७५ लाख रुपैयाँ बाहिरिएको छ ।
"यसरी नेपालले साउन महिनायता १ अर्ब ५१ करोड रूपैयाँ बराबर कमाएको छ," राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले बीबीसीसँग भने "विगतमा पनि आम्दानी हुने र बाहिरिने त हुन्थ्यो तर त्यो 'सर्भिस इन्कम' शीर्षक अन्तर्गतमात्रै थियो। यसरी 'ब्रेकडाउन' गरिएको थिएन ।"
राष्ट्र ब्याङ्कले यसरी अडिओ, भिडिओ र 'रिलेटेड' शीर्षकअन्तर्गत प्रत्येक महिना विदेशबाट सामाजिक सञ्जाल र 'डिजिटल मूभी'हरूबाट भित्रिने तथा बाहिरिने रकमको तथ्याङ्क यसै आर्थिक वर्षबाट मात्रै राख्न थालेको हो ।
ब्याङ्कको तथ्याङ्कअनुसार साउनयताका आठ महिनामा औसतमा मासिक रूपमा ३५ करोड रुपैयाँ नेपाल भित्रिने गरेको छ ।
गएको फागुन महिनामा मात्रै खास गरी यूट्यूब, फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमा अडिओ–भिडिओबाट २५ करोड ४७ लाख रुपैयाँ भित्रिएको र पाँच करोड १३ लाख रुपैयाँ बाहिरिएको देखिन्छ । यसरी उक्त महिनामा २० करोड ३४ लाख रुपैयाँ नाफा भएको छ ।