हिमालयन शेर्पा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ ।
यो हिमालयन शेर्पाको दोस्रो जित हो । यसअघि क्लबले दोस्रो संस्करणमा उपाधि जितेको थियो । शुक्रबार राति सिमरा रंगशालामा भएको फाइनल भिडन्तमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले दुई गोल गर्दै टोलीको विजयमा निर्णायक भूमिका खेले । रोबर्ट खोङजो र समिरराज थोकरले समान एक–एक गोल गरे भने मच्छिन्द्रका लागि रञ्जन पुनले एक मात्र सान्त्वना गोल गरे ।
सुरुवातमै दबदबा, मच्छिन्द्र १० खेलाडीमा सिमित
खेलको तेस्रो मिनेटमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।
मच्छिन्द्रका रञ्जन पुनले खेलको २७ औं मिनेटमा बराबरी गोल गरे पनि त्यसको दुई मिनेटमै समिरराज थोकरले पुनः अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट खोङजोले उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गोल गरेपछि स्कोरलाइन ३–१ भयो । दोस्रो हाफमा मच्छिन्द्रका गोलकिपर विशाल सुनारले रोबर्टलाई फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसपछि पाएको पेनाल्टीमा कप्तान विश्वासले पुनः गोल गरे ।
यसपछि मच्छिन्द्र खेलमा फर्कन सकेन ।
विधागत अवार्डमा पनि शेर्पाको वर्चस्व
फाइनल खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका अमित तामाङ घोषित भए । उनले १० हजार नगद र ट्रफी प्राप्त गरे ।
भिएक्सएल एजुकेशन प्लेयर अफ दि टुर्नामेन्ट रोबर्ट खोङजो घोषित भए । उनले इलेक्ट्रिक स्कुटरसहित उच्च गोलकर्ता (३ गोल) को अवार्ड पनि जिते । उत्कृष्ट गोलरक्षक हिमालयन शेर्पाका विवश चौधरी, उत्कृष्ट प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री घोषित भए । दुबैले २५ हजार नगद पाए । इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट सिमराका सेरव लो तामाङ बने । उनले १५ हजार राशीको पुरस्कार पाए जुन अष्ट्रेलियामा रहेका फुटबलर रवी पासवानले प्रायोजन गरेका थिए ।
फेयर प्ले अवार्ड सलहेश युवा क्लबलाई प्रदान गरियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथिका रूपमा सहभागी हुने तय थियो । तर अन्तिम समयमा उनी अनुपस्थित भए । विजेता तथा उपविजेता टोलीलाई पूर्व मन्त्री तथा सांसद कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।