बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३, संतगञ्ज दशगजा क्षेत्रमा शुक्रबार आगलागी नियन्त्रणसम्बन्धी संयुक्त कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण हेडक्वार्टर उत्तरझिट्कैया बाराको आयोजनामा सम्पन्न उक्त अभ्यासमा नेपाल र भारत दुबै मुलुकका सुरक्षा निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, राष्ट्रिय अनुसन्धान कार्यालयका दीपक खड्का, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी उपरीक्षक निरज कुमार लगायतको उपस्थिति रहेको थियो ।
कृत्रिम घटना अभ्यासमा भारतीय एसएसबी महुअवाका ईञ्चार्ज के.एम. विश्वासको नेतृत्वमा २९ जना एसएसबी जवान सहभागी थिए । त्यस्तै, इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी नायब निरीक्षक आस महम्मद अंसारीको कमान्डमा पाँच जना नेपाल प्रहरीका जवान र सशस्त्र प्रहरी बल बीओपी कवही गोठका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवको कमान्डमा १६ जना सशस्त्र प्रहरीका जवानले सहभागिता जनाएका थिए ।
आगलागी नियन्त्रणका लागि सुवर्ण गाउँपालिकाको बारुण यन्त्र प्रयोग गरिएको थियो भने आगलागीबाट घाइते भएका व्यक्तिहरूको उद्धारका लागि एम्बुलेन्समार्फत उद्धार कार्यको अभ्यास पनि गरिएको थियो । उक्त अभ्यासमा आगलागीबाट जोगिने उपाय, घाइतेको प्राथमिक उपचार, आगो निभाउने व्यवहारिक तालिम र आपतकालीन अवस्थाका सम्भावित कदमहरू अभ्यास गरिएको थियो ।
सुरक्षा निकायका अनुसार गर्मीको समयमा हुने आगलागीका घटनाहरूलाई नियन्त्रण गर्न सजिलो होस् भनेर यो अभ्यास गरिएको हो । सीमा क्षेत्रमा गरिएको यस्तो अभ्यासले नेपाल भारत बीचको आपतकालीन समन्वय तथा तयारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ। उक्त संयुक्त अभ्यासलाई नेपाल–भारत गरी करिब २५० जनाले अवलोकन गरेका थिए ।