जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केन्द्रविन्दुमा पर्ने चार किल्ला क्षेत्रमा (कर्फ्यु) निषेधाज्ञा जारी गरेको छ ।
शनिबार साँझदेखि लागु भई आईतबार दिनकाे १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाइएको जानकारी गराएको हो ।
वीरगञ्ज क्षेत्रमा शनिबार साँझ ७:३० बजेदेखि लागू भएको निषेधाज्ञाअनुसार अत्यावश्यकबाहेक अन्य सबै सवारीसाधनहरूको आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना गर्न नपाइने जनाएकाे छ । समुदायबीचको झडपपछि सार्वजनिक सुरक्षाको दृष्टिकोणले जिल्लामा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । आदेश उल्लंघन गरेमा कानुनी कारबाही हुने जनाएको छ ।
जारी सूचनामा औषधि, दूध, खाद्यान्न, पानी, ग्यास लगायत अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, तथा परीक्षा दिन जाने परीक्षार्थीहरूलाई मात्र सवारी सञ्चालनको अनुमति दिइने उल्लेख गरिएको छ । अन्य सबै प्रकारका सवारी, मानिस तथा भीडभाड नियन्त्रणमा राख्न निर्देशन दिइएको छ ।
अवश्यक परे सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की (९८५५००१०५१), प्रहरी नायब उपरीक्षक किशोर लम्साल (९८५५०२८२८५), सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह (९८४११४६०३१) र प्रशासनिक अधिकृत दीपक कुमार पटेल (९८४५८५०५४८) लाई सम्पर्क गर्न सकिने जनाएकाे छ ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू:
- पूर्व: भेडियाही चोक – वीरगञ्ज महानगरपालिका–१५
- पश्चिम: सिर्सिया पुल – वीरगञ्ज महानगरपालिका–२५
- उत्तर: गण्डक चोक – वीरगञ्ज महानगरपालिका–१४
- दक्षिण: शंकराचार्य गेट – वीरगञ्ज महानगरपालिका–१६
जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था र सार्वजनिक हितका लागि कर्फ्यु आवश्यक भएको बताएको छ। यसअघि वीरगञ्जको छपकैयामा धार्मिक जुलुसमा ढुंगामुढा भई तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरक्षा सतर्कता अपनाइएको हो ।
यस क्रममा स्थानीयबासीलाई संयमित रहन र कानुनको पालन गर्न प्रशासनले आग्रह गरेको छ ।