ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले खेलेको भूमिकाको सराहना गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त टिप्पणी गरेका हुन् । देउवाले मुलुकले अंगीकार गरेको समावेशी र समानुपातिक शासन प्रणालीले सबै जात र समुदायलाई समेटेको बताउँदै यसलाई अझ प्रभावकारी बनाउने दिशामा पार्टी सचेत रहेको बताए ।
“मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ। उहाँहरूको सद्भाव कायम राख्न खेलेको भूमिका प्रशंसनीय छ,” उनले भने ।
कार्यक्रममा पार्टीका सह–महामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा आधारित लोकतान्त्रिक व्यवस्थामा कांग्रेसको अटल आस्था रहेको बताए ।
“हामी सबैको विचार, मूल्य र मान्यताको सम्मान गर्दै अगाडि बढिरहेका छौं,” उनले स्पष्ट पारे ।
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्थाको संरक्षण र विकासमा पुर्याएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।
त्यस्तै अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना दिँदै जात–जाति र समुदायबीचको एकताबाट नै समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले पनि बोलेका थिए। उनीहरूले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपाली समाजको पहिचान भएको बताएका थिए ।