जनकपुरधाममा हिन्दु राष्ट्रको माग गर्दै, जनकपुरधाममा राजावादीहरूको प्रदर्शन गरेका छन् ।
आइतबार राजावादीकाे प्रदर्शन गर्दै ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारासहित नगर परिक्रमा गरेका छन् । नेपाली राष्ट्रिय झण्डा बोकेर जुलुस निकालेका प्रदर्शनकारीले गणतन्त्रको विकल्पमा पुनः राजतन्त्रको बहालीको माग गर्दै उत्रेका हुन् । जनक चौकबाट सुरु भएको जुलुस भानुचौक, मिल्स एरिया, सीता चौक हुँदै पुनः भानुचौक भएर जनक चौकमै पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले नेपालमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार, महँगी, अपराध नियन्त्रण गर्न राजसंस्थाको पुनःस्थापनाको आवश्यकता रहेको बताउँदै नाराबाजी गरेका थिए । प्रदर्शनको अगुवाइ स्थानीय राजावादी नेता प्रकाश राणाले गरेका थिए । कोण सभामा बोल्दै उनले गणतन्त्रले देशलाई भ्रष्टाचार, विखण्डन र अधोगतितर्फ धकेलेको आरोप लगाए ।
“हामी अहिलेको व्यवस्था परिवर्तनको माग गर्दै जनता समक्ष आएका छौं । राजा आए मात्र देश सुरक्षित रहन्छ,” उनले भने । सभामा सहभागीहरुले संविधान संशोधन गरी धर्मनिरपेक्षताको अन्त्य र हिन्दू राष्ट्र पुनःघोषणा गर्नुपर्ने मागसमेत राखेका थिए ।
उनीहरुले संघीयता खारेज गरी देशलाई एकीकृत, स्वावलम्बी बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए ।