काठमाडौं । सवारी साधन चेकजाँचका क्रममा ट्राफिक प्रहरीले चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर उच्च अदालत पाटनले गरेको छ । अदालतले ट्राफिक प्रहरीलाई सवारीको चाबी खोस्ने अधिकार छैन भनी स्पष्ट निर्देशनात्मक आदेश जारी गरेको हो ।
नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर कात्तिक ७ गते रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले माघ ६ गते निर्देशनात्मक आदेश जारी गरेको थियो, जसको पूर्णपाठ हालै सार्वजनिक गरिएको हो ।
आदेशमा भनिएको छ, “कानूनले तोकेको कारबाहीबाहेक त्यस्तो चाबी खोस्ने समेतका कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरी दिएको छ ।”
अदालतले स्पष्ट रूपमा प्रहरीलाई सवारी चेकजाँचका नाममा सर्वसाधारणलाई त्रासमा पार्ने किसिमको अभिव्यक्ति र व्यवहार नगर्न चेतावनी दिएको छ । आदेशमा भनिएको छ, “कानूनमा चाबी खोस्न पाउने भन्ने व्यवस्थाको अभावमा सार्वजनिक पदमा रही कर्तव्य निर्वाह गर्न जाँदा कानूनले तोकेको विधि र मान्यता पालना गर्नुपर्ने हुन्छ ।”
विवेक चौधरीले असोज ३ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनअगाडि ट्राफिक प्रहरीले एक सवारी चालकसँग चाबी खोस्न खोजेको भन्दै भिडियो प्रमाणसहित उच्च अदालतमा रिट दायर गरेका थिए । तर अदालतले भिडिओमा वादविवाद भएको देखिए पनि चाबी खोसेको स्पष्ट प्रमाण नदेखिएको उल्लेख गर्दै परमादेश आवश्यक नभएको ठहर गरेको छ ।
तर अदालतले ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने कानुनी व्यवस्था स्पष्ट रूपमा नरहेको भन्दै यस किसिमको कार्य नगर्न/नगराउन निर्देशन दिएको छ ।