हनुमान जयन्तीको अवसरमा शनिबार वीरगंजको छपकैयामा निकालिएको र्यालीमा भएको ढुंगामुढा र झडपपछि उत्पन्न तनावपूर्ण अवस्था साम्य पार्न सर्वदलीय बैठक समपन्न भएकाे छ ।
बैठकले सामुदायिक द्वन्द्व फैलाउने जुनसुकै समुदायको व्यक्ति भए पनि कानूनी कारबाही प्रक्रिया अघि बढाइने निर्णय गरेको छ । बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका नेता, दुवै समुदायका अगुवा, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
झडपका क्रममा सार्वजनिक तथा विभिन्न व्यक्तिहरूकाे निजी सम्पत्तिमा क्षति पुगेको, दर्जनौं सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका घटनालाई गम्भीर रूपमा लिँदै सबै पक्षले शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा उभिनु पर्ने सहमति गरेका छन् ।
यस्तो छ, सर्वदलीय बैठकको ५ बुँदे निर्णय

बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार शनिबार भएको झडप नियन्त्रणमा लिन १ सय ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो भने, एसएलआरबाट दुई राउण्ड हवाइ फायर गरिएको थियो । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २५ जना सुरक्षाकर्मी घाइते भएका थिए भने करिब तीन दर्जन सर्वसाधारण समेत घाइते भएका थिए ।
सर्वदलीय सहमतिपछि स्थानीय प्रशासनले शनिबारदेखि लागू गरिएको कर्फ्यू आदेश आइतवार राति १२ बजेसम्म कायम रहने जानकारी दिएको छ । त्यसपश्चात अवस्था मूल्यांकन गरी आवश्यक निर्णय लिने प्रशासनले जनाएको छ । प्रशासनले स्थानीय नागरिकलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गर्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने बारे सुचना दिन र सचेत रहन आग्रह गरेको छ ।