जनकपुरधाम । मधेस प्रदेशसभाको चौथो अधिवेशन औपचारिक रूपमा अन्त्य भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
चौथो अधिवेशनमार्फत तीनवटा महत्वपूर्ण ऐनहरू पारित भएका छन् । तीमध्ये प्रदेश बाल अधिकार ऐन, २०७९ को पहिलो संशोधन, प्रदेश कृषि विकास विधेयक र मधेस पर्यटनको विकास तथा प्रवद्र्धन सम्बन्धी विधेयक पारित गरिएका हुन् ।
यस अधिवेशनबाट चारवटा विधेयक समितिमा छलफलका लागि पठाइएको छ । ती विधेयकहरूमा प्रदेश बिउ विजन सम्बन्धी विधेयक, प्रदेश व्यापार तथा व्यवसाय प्रवद्र्धन सम्बन्धी विधेयक, प्रदेश नीति आयोग संशोधन विधेयक र गाउँसभा/नगरसभा/जिल्ला सभा कार्य सञ्चालन संशोधन विधेयक समावेश छन् ।
यसबाहेक, प्रदेश निजामति सेवा ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता प्रक्रियामा छ भने मधेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको छ ।
यद्यपि, चालु अधिवेशनमा पेश गरिएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ विवादित बनेपछि सभाबाट फिर्ता लिइएको छ ।
हाल प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले जनाएको छ ।