जनकपुरधाम। मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आइतबार जनकपुरधाममा आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ। पार्टीले बजेट वितरणमा विभेद, योजनामा पारदर्शिताको अभाव, र भ्रष्टाचारविरुद्ध कडा कदमको माग गर्दै प्रदर्शन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा सहित प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए ।
जनमत पार्टीका नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाहरूमा गम्भीर अनियमितता भएको आरोप लगाउँदै प्रदेश सरकारका केही मन्त्रीहरू नै सो प्रक्रियामा संलग्न रहेको दाबी गरे । “जनमत पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ,” उनले भने, “चाहे हाम्रै पार्टीका मन्त्री किन नहोस्, जनताको करको पैसा लुट्न दिइँदैन ।”
उनले धनुषा–३ मा योजनाबाट बञ्चित गरिएकाले गम्भीर असन्तोष फैलिएको बताए। उनका अनुसार सो क्षेत्रलाई पुरक बजेटबाट समेत उपेक्षा गरिएकाले समानताको सिद्धान्तको उल्लंघन भएको हो ।
प्रदर्शनमा सहभागीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ७ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमणको अन्त्य, योजनामा पारदर्शिता, बजेटको न्यायोचित वितरण, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा, र छानबिन आयोग गठनको माग समेटिएको छ ।