आज देशभर विक्रम संवत् २०८२ सालको स्वागत गरिँदैछ ।
वैशाख १ गते अर्थात् नयाँ वर्षको पहिलो दिन नेपालीहरूले एकआपसमा शुभकामना आदान–प्रदान गरी उत्साहका साथ मनाइरहेका छन् । बिहानैदेखि पूजा–पाठ, मन्दिर दर्शन, घरको सरसफाइ, पारिवारिक भेटघाट तथा मीठा परिकारसहित नववर्षको उल्लास देशभर छाएको छ ।
आजको दिन सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने महत्वपूर्ण समय हो, जसलाई “मेष सङ्क्रान्ति” तथा “वैशाख सङ्क्रान्ति” भनेर चिनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार, सूर्यको गतिसँगै चल्ने भएकाले विक्रम संवत् शाश्वत संवत् हो र यसमा शक संवत्को धार्मिक पक्ष तथा इश्वी संवत्को व्यावहारिक पक्ष समेटिएको छ ।
उनका अनुसार, विक्रमादित्यले सुरु गरेको यस संवत्को वैज्ञानिक महत्व सूर्यको राशिचक्र अनुसार वर्षको प्रारम्भ हुनु हो ।
वेद अनुसारको संवत्सर गणना पनि सुरु
वैदिक सनातन धर्मअनुसार ६० वटा संवत्सर छन् । यस वर्ष चैत १७ गतेदेखि “सिद्धार्थी” नामक संवत्सर सुरु भइसकेको छ, जुन ६० संवत्सरमध्ये ५३ औं संवत्सर हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, यो संवत्सर पनि चान्द्रमान अनुसार हेरिन्छ, जुन चैत्र शुक्ल प्रतिपदादेखि प्रारम्भ हुन्छ ।
नयाँ संकल्प र मूल्याङ्कनको अवसर
नयाँ वर्षको अवसरमा हरेक व्यक्ति तथा परिवारले विगत वर्षको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ संकल्प लिने गर्छन् । असफलतालाई दोहोरिन नदिने र सफलतालाई अझ सुदृढ बनाउने योजना बनाउने यो अवसर आत्ममूल्याङ्कनको दिन पनि मानिन्छ ।
देशभर मात्र नभइ विदेशमा रहेका नेपालीहरूले पनि यही दिनलाई नववर्षका रुपमा मनाइरहेका छन् । सामाजिक सञ्जाल, भिडियो कल, शुभकामना कार्डमार्फत नेपालीहरू एकअर्कालाई सन्देश आदान–प्रदान गरिरहेका छन् ।
सरकारी कार्यालय, विद्यालय, तथा विभिन्न संस्थाहरूले समेत नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहित कार्यक्रम आयोजना गरेका छन् ।
नेपालको मौलिक पात्रो अनुसार मनाइने विक्रम संवत् आज पनि सांस्कृतिक, धार्मिक र राष्ट्रिय पहिचानको आधार बनेको छ।