पर्साको छपकैयामा शनिवार हनुमान जयन्तीको अवसरमा निकालिएको शान्तिपूर्ण ¥यालीमा भएको ढुंगामुढा र त्यसपछिको झडपले सिर्जना गरेको साम्प्रदायिक तनावका बीच राजनीतिक दलभित्र पनि आन्तरिक विवाद चुलिँदै गएको छ ।
घटनाप्रति जिम्मेवार अभिव्यक्ति नआएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेताहरूले फेसबुकमार्फत सार्वजनिक रूपमा राजीनामा दिने क्रम सुरु गरेका छन् ।
शनिवार वीरगंजको घण्टाघरबाट सुरु गरिएको धार्मिक ¥याली छपकैयामा पुग्दा ढुंगामुढा र झडपमा परिणत भयो। त्यसक्रममा सुरक्षाकर्मी, सर्वसाधारण र स्थानीय बासिन्दा गरी तीन दर्जनभन्दा बढी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन १ सय ४० राउन्ड अश्रुग्यास र २ राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
दुई समुदायबीचको झडपजस्तो संवेदनशील विषयमा पार्टीको नेतृत्व तहमा रहेर कुनै ठोस अभिव्यक्ति नदिएको भन्दै पर्सा जिल्लाका स्थानीय नेताहरू आक्रोशित भएका छन् । जसपा पर्साका केन्द्रिय सदस्य राजन बैठाले फेसबुकमा स्टाटस लेख्दै पार्टीको केन्द्रीय सदस्यकाे जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले लेखेका छन्, “जो रामको हुन्न, त्यो कसैको हुन्न । पार्टीले सत्यको पक्षमा उभिन नसकेपछि मेरो त्यहाँ रहन कुनै कारण छैन ।”
त्यस्तै जसपाका अर्का स्थानीय नेता राजा साहले पनि फेसबुकमार्फत आफूले राजीनामा दिएको जनाएका छन् । उनले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै, “सामाजिक सद्भाव र नागरिक सुरक्षामा आँच पुग्दा पनि चुप लाग्ने नेतृत्वको समर्थन गर्न सक्दिनँ,” म अाजदेखी स्वतन्त्र छु भनेका छन् ।
स्थानीय सामाजिक अगुवाहरूको भनाइमा यस्तो संवेदनशील विषयमा सबै दलले संयमित तर स्पष्ट भूमिका लिन आवश्यक छ ।
यता जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सर्वदलीय बैठकमार्फत साम्प्रदायिक उत्तेजना फैलाउनेमाथि कानुनी कारबाही गर्ने निर्णय गरिएको छ।