रौतहट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका ठूलो मात्रामा तस्करीका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत अस्थायी प्रहरी पोष्ट बखरैया मातहतको टोलीले गौर नगरपालिका–४ स्थित चेकपोस्टमा शंकास्पद रूपमा आएको टेम्पु जाँच गर्दा उक्त तस्करी खुलासा भएको हो । प्रहरीले भारतबाट चोरी पैठारी गरी ल्याइएका करिब ४ लाख २१ हजार ११० रुपैयाँ बराबरका घरेलु उपभोग्य सामग्रीहरू सहित टेम्पु चालक गौर नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार यादवलाई नियन्त्रणमा लिएको छ ।
तस्करीमा प्रयोग भएको टेम्पु (ना २ ह ७६५६) पनि बरामद गरिएको र त्यसलाई समेत अनुसन्धानमा समावेश गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानहरूमा फुलझाडू, भाडाकुँडा, विविध कपडा, सागसब्जी लगायतका सामग्री रहेका छन्। यी सबै सामग्रीहरू भारतबाट अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, “चोरी पैठारी भई भन्सार छली गरेर सामान ल्याउनेबारे विशेष सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा चेकिङमा संलग्न टोलीले उक्त टेम्पु नियन्त्रणमा लिएको हो ।”
उनका अनुसार पक्राउ परेका उमेश यादवलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीले भन्सार छली तथा अवैध कारोबारमा संलग्न हुने जो–कोहीलाई कडा निगरानीमा राखी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ । रौतहटको दक्षिणी सीमावर्ती क्षेत्रहरूमा यस्ता गतिविधिहरू रोक्न सुरक्षा कडाइ गरिएको र चेकिङ थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ ।