पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने र ताेडफाेडमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ स्थित छपकैया र नगवा १६ नम्बर वडाको बासिन्दा रहेका छन् ।
प्रहरीका अनुसार, रामनवमीको अवसरमा निस्किएको धार्मिक जुलुस छपकैया हुँदै अगाडि बढिरहेका बेला योजनाबद्ध ढङ्गले ढुंगा प्रहार गरी स्थिति तनावपूर्ण बनाउन खोजिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा छपकैया–२ निवासी ३० वर्षीय शेख खुर्सेद र सलाउद्दिन मियाँ ठकुराईलाई पक्राउ गरिएको हो । उनीहरू घरको छतबाट ढुंगा प्रहार गर्दै भिडलाई उत्तेजित पार्न खोजेको प्रहरीले अाराेप रहेको छ ।
त्यसैगरी, घटनापछि स्थानीय होटल तथा मोटरसाइकलमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा छपकैयाकै बलदिप सिंह कुशवाहा र नगवा–१६ का रवि सर्राफलाई समेत नियन्त्रणमा लिइएको छ ।
पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रका अनुसार पक्राउ परेका चारै जनामाथि घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
“धार्मिक सद्भावमा खलल पुर्याउने कुनै पनि धर्म, जातका किन नहाेस कसैलाई पनि कानुनी दायराभित्र ल्याउने हाम्रो प्राथमिकता हो,” एसपी मिश्रले भने, “समुदायबीचको शान्ति, सद्भाव र सहिष्णुतामा आघात पुग्ने कार्यलाई कदापि सहन गरिने छैन् ।”
हाल सम्भावित विभित्र क्षेत्रकाे घटनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्भावित थप घटनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । स्थानीय प्रशासनले नागरिकहरूलाई अफवाहमा नलाग्न र संयमित रहन आग्रह गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय पर्साले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखिएको र दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।